कान्तिपुर हाफ म्याराथनमा भाग लिन दर्ताको समय थप

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०८१

’कान्तिपुर हाफ म्याराथन २०८१’ मा सहभागी हुन खेलाडी दर्ताको समय जेठ ३ गतेसम्म थपिएको छ । खेलाडी दर्ता कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आएर वा ईसेवाबाट गर्न सकिनेछ । कान्तिपुर पब्लिकेशन्स लिमिटेडले आयोजना गर्ने हाफ म्याराथनको यो १२ औं संस्करण हो । आगामी जेठ ५ गते शनिबार हुने हाफ म्याराथनको नारा ‘रन टु इन्स्पायर द यङ’ रहेको छ ।

कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहेका छन् । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट रन ५ किमी, कलेज रन ७ किमी, हिृवलचेयर रेस हुनेछ । मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार पाउने छन् ।

हिृवलचेयर रेस तर्फ विजेताले ३० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउने छन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।


प्रतिक्रिया