दशकपछि बझाङमा हवाई जहाज

आश्विन २४, २०७५ | बझाङ

करीब एक दशकपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण गरेको छ । २०६५ सालदेखि बन्द रहेको विमान स्थलमा परीक्षण उडानका क्रममा आएको नेपाल वायुसेवा निगमको ट्वीन अटर जहाजले बुधबार सफल अवतरण गरेको हो । 

नेपालगञ्जबाट दिउँसो १२ बजेर २४ मिनेटमा उडेको नाइन एन एकेयु कल साइनको उक्त जहाज ४५ मिनेट लगाएर बझाङ पुगेको थियो । बझाङको देवल विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी सहायक निरीक्षक काँसीराम पन्तले बताउनुभयो । 

विमानस्थल नियमित उडान गर्न योग्य छ की छैन भनेर बुझ्नका लागि प्राविधिक टोली सहित आएको उक्त जहाजले २० मिनेट रोकिए पछि नेपालगञ्ज तर्फ उडान भरेको थियो । 

परीक्षण उडानको क्रममा नेपाल नागरिक उड्ययन डिभिजन कार्यलयका वरिष्ठ अधिकृत भगवती प्रसाद करुङ, नेपाल वायुसेवा निगमका रमेश कुमार पाण्डे, दिपेन्द्र सेन लगायतले विमान स्थल र  यहाँको भौतिक संरचनाको निरीक्षण गरेका थिए । 

बझाङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशा कुमारी विक लगायत जनप्रतिनिधिहरु र मिडियाकर्मीकोहरुको लामो प्रयासपछि हवाईजहाज नियमित उडानको तयारी स्वरुप परीक्षण उडान गरिएको पाण्डेले बताउनुभयो । जिल्लाको अवस्था बारे एक हप्ता भित्र प्रतिवेदन दिइने र त्यस पछि नियमित उडान सुरु हुने उहाँको भनाई छ । 

विमान सेवा सञ्चालन हुनु पर्ने माग गर्दै पटक पटक केन्द्र सम्म धाएका बझाङका स्थानीयहरु परीक्षण उडान सुरु भए पछि खुशी भएका छन् । हप्तामा कम्तीमा दुई उडान हुन सके स्थानीयलाई राहत हुने र जिल्लाको पर्यटन प्रर्वद्धन हुने उनीहरुको भनाई छ । 

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भए पछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ साल सम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

२०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थाले पछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो । 

बढी जसो बझाङ नेपालगञ्ज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगञ्ज बाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताए थिए । यद्यपी धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुई तीन वटा सम्म ट्वीन अटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउँदै आएका छन् ।

तर धनगढी विमान स्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनीहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् । 

विमान संचालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । हाल बेवारिसे जस्तै बनेको विमानस्थल स्थानीयको खेल मैदान र गौचरनमा परिणत भएको छ, भने विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको सौच गर्ने ठाउँमा परिणत भएको छ ।

केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झयालढोकामा रहेका शिशाहरु पनि फुटाइएका छन् । हिउँदे वर्षा भएको बेला र बर्खाको समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालिन बिरामीहरुले वर्षेनी ज्यान गुमाउने गरेका छन् भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन् ।

गत वर्ष असार देखि भदौ सम्म तीन महिनाको अवधिमा बझाङलाई अन्य जिल्लासंग जोड्ने जयपृथ्वी राजमार्ग पटक पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधिमा उपचारको लागि धनगढी लैजाँदै गरेका ५ जना बिरामीहरुले बाटैमा ज्यान गुमाउनु परेको थियो । 


प्रतिक्रिया