खुकुरी प्रहार गरी पत्नीको हत्या

कार्तिक ८, २०७५ | रोल्पा

रोल्पामा एक जनाले आफ्नै पत्नीको हत्या गरेका छन् । गंगादेव गाउँपालिका ५ पाखापानीस्थित गाउँमा सुकलाल सार्कीले पत्नी देवीसराको खुकुरी प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पति र पत्नीबीच विवाद उत्पन्न भएपछि बुधबार राति आवेगमा आएर सुकलालले पत्नीमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै देवीसराको मृत्यु भएको थियो ।

उक्त स्थान रोल्पा सदरमुकाम लिबाङदेखि पश्चिम सल्यानको सीमामा पर्छ । सनकमा खुकुरी प्रहार गर्ने सुकलाल ४३ वर्षीयका छन् भने मृतक उनकी पत्नी देवीसराको उमेर ३९ वर्षीया थिए ।

प्रहरी नायब उपरीक्षक दीपक खड्काले प्रहरी टोली घटनास्थल पुगी हत्या अभियोग लागेका सुकलाल र मृतक देवीसराको शव नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले घटनाबारे अनुसन्धान जारी राखिएको बताउनुभयो ।

प्रहरीका अनुसार हत्या अभियोग लागेका सार्कीको मानसिक सन्तुलनमा समस्या देखिएको स्थानीयले बताएका छन् । उनको परिवारमा ३ छोरा र ४ छोरी छन् । मृतकको शव पोष्ट मार्टम गर्न रोल्पा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

केही समय यता रोल्पामा हत्या, बलात्कार तथा आत्महत्याका घटना बृद्धि भएका छन् । विगतको सशस्त्र द्वन्द्वको प्रभावले घटना भएको प्रहरीको भनाइ छ । 


प्रतिक्रिया