सुलीचौरको फोहर व्यवस्थापन

कार्तिक ११, २०७५ | रोल्पा

रोल्पाको पूर्वी बजार सुलीचौरमा फोहर व्यवस्थापन गर्न पहल थालिएको छ । सुनील स्मृति गाउँपालिका ४ स्थित वडा कार्यालयले भाडामा जग्गा लिएर फोहर फाल्ने स्थान तय गरेको छ । वडा अध्यक्ष गञ्जबहादुर क्षत्री महराले बजार दुर्गन्धित भएपछि फोहर फाल्ने स्थान छान्नु परेको बताउनुभयो ।

वडा कार्यालयको निर्णय अनुसार साविकको खुंग्री १ स्थित देउखुरी खोलामा स्थानीय जुठी गिरीको जग्गा भाडामा लिइएको हो । फोहर फाल्ने स्थान निश्चित गर्न गिरीको कित्ता न.१०४७ र क्षेत्रफल १२०३५ वर्गमिटर भएको जग्गा भाडामा लिइएको वडाअध्यक्ष क्षत्रीले बताउनुभयो ।

उहाँका अनुसार हाल उक्त स्थानलाई अस्थायी रुपमा फोहर व्यवस्थापन गर्न डम्पिंङ साइटका रुपमा प्रयोग गरिनेछ । गाउँपालिकाले समेत सहयोग गरेको उहाँले बताउनुभयो । उक्त जग्गा ५० मिटर चौडाई र १ सय मिटर लम्बाईमा फैलिएको छ । वडा कार्यालयको पहलमा डोजरको प्रयोग गरेर त्यहीं खाल्डो निर्माण गरिनेछ । 

वडा कार्यालयका अनुसार बजारबाट सातामा दुई पटक मंगलबार र शनिबार टेक्टरबाट फोहर संकलन गरी लैजाने व्यवस्था मिलाइएको छ । सुलीचौर पूर्वी रोल्पाकै मुख्य व्यापारिक केन्द्र हो । फोहर व्यवस्थापन गर्न उचित व्यवस्था मिलाउन स्थानीयले लामो समयदेखि माग गर्दै आएका छन् ।

सुलीचौर घर भएका रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले बजार विस्तारसँगै स्थानीयले प्राथमिकता साथ फोहर व्यवस्थापन गर्न ध्यान दिनुपर्ने बताउनुभयो । फोहर व्यवस्थापन गर्ने योजनाका लागि यसअघि गाउँपालिकाले पटक पटक गरी ५ लाख र ३ लाख बजेट विनियोजन गरेपनि काम नहुँदा फिर्ता पठाइएको थियो । 

फोहर व्यवस्थापनका लागि स्थानीय, बजार व्यवस्थापन समिति र जनप्रतिनिधिले संयुक्त पहल थाल्नु पर्ने गरी निर्णय गरिएको अध्यक्ष क्षत्रीले बताउनुभयो । बजारभर जथाभावी फोहर फाल्ने चलनले बजार दुर्गन्धित छ । स्थानीयका अनुसार अत्यधिक फोहर हुँदा बजारको सौन्दर्य नै बिग्रेको छ ।

यस्तै बजारको खानेपानी व्यवस्थापन र बजार व्यवस्थापनमा समेत चासो दिन खोजेको क्षत्रीले बताउनुभयो । यसअघि गाउँपालिकाले विनियोजन गरेको बजेट प्रयोगबारे अन्योलता देखिएपनि स्थानीयले निरन्तर दबाब दिएकाले यस्तो निर्णय गर्नु परेको क्षत्रीले बताउनुभयो ।

तर चालू आर्थिक वर्षमा वडा कार्यालयले नै फोहर व्यवस्थापनका लागि ५ लाख बजेट विनियोजन गरेको हो । फोहर व्यवस्थापन गर्ने योजना अघि सारेपछि स्थानीय खुशी छन् । 


प्रतिक्रिया