बलात्कारपछि हत्या घटनामा संलग्न ५ जना पक्राउ

कार्तिक २६, २०७५ | उदयपुर

उदयपुरको रौतामाई गाउँपालिका, ३ लाफागाउँकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ५ युवकलाई पक्राउ गरेको छ । बलात्कारपछि बालिकाको हत्या भएको आशंकामा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो ।

तर, उनीहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धान प्रभावित हुने भएकाले पक्राउ परेकाहरुको नाम, ठेगाना नखुलाइएको एसपी राईले बताउनुभयो ।

जिल्ला प्रहरी कर्यालयबाट खटिएको टोलीलाई स्थानीयले घटनामा उनीहरुको संलग्नता हुन सक्ने बताएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गत शनिबार बाख्रा चराउन गएकी बालिका हिजो दिउँसो घर नजिकैको जंगलमा मृत फेला परेकी थिइन् । बालिकाको शव पोष्टमार्टका लागि सदरमुकामतर्फ ल्याएको प्रहरीलाई उद्दृ गर्दै सहकर्मी डिल्लीराम खतिवडाले जनाएका छन् ।

घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित चिकित्सक र जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्जुन रानाभाट सहितको टोली खटिएको छ । 


प्रतिक्रिया