रोल्पाबाट ३ जना बालकको उद्वार

मंसिर १३, २०७५ | रोल्पा

रोल्पा पश्चिमबाट ३ बालकको उद्धार गरिएको छ । राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ती बालकलाई प्रहरीले बुधबार सिम्पानी र निगालपानीबाट उद्वार गरेको हो । अभिभावक र अन्यका साथ श्रमबजारमा पुर्‍याइँदै गरेका ती बालकलाई त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानबाट उद्वार गरिएको हो ।

उद्वार कार्यमा त्रिवेणी गाउँपालिकाले विशेष पहल थालेको हो । सडक मार्ग हुँदै दाङतर्फ लैजाने क्रममा गाउँपालिकाको ४ नम्बर वडाको सिम्पानी र निगालपानीबाट गाउँपालिकाले प्रहरी परिचालित गरेर बालकको उद्वार गरेको अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।

बालश्रम रोक्नेबारे गाउँपालिकाले यस अघि नै रणनीति तय गरिसकेको छ । त्रिवेणी गाउँपालिकाले बालश्रम निवारण सम्बन्धी तीन वर्षे रणनीति बनाई कार्यान्वयन गर्न थालेको छ । सबै वडामा एकैसाथ उक्त रणनीति लागू भइसकेको छ ।

उक्त रणनीति अनुसार गाउँपालिका भित्रबाट कसैले पनि बालबालिकालाई श्रम बजारमा लैजान नपाउने तथा लगेमा कारबाही गरिने निर्णय छ । उक्त रणनीति कार्यान्वयन गर्न हरेक वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेका छन् । 

‘बालअधिकारको सम्मान गर्दै उनीहरुलाई शिक्षा, स्वास्थ्य र हेरचाह गर्न अभिभावकलाई प्रेरित गरिएको छ ।’ गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भन्नुभयो, ‘बालश्रम मुक्त बनाउन गाउँपालिकाभर अभियान थालिएको छ । बाहिर लैजान पनि रोक लगाइएको छ ।’

उहाँले गाउँपालिकाबाट बालबालिकालाई जिल्ला बाहिर लैजानबाट रोक्न सबै नाकाहरुमा कडाई अपनाइएको बताउनुभयो । प्रहरीले ती नाकाहरुमा हरेक दिन सवारी साधनमा चेकजाँच गर्दै आएको छ भने पैदल यात्रुप्रति पनि निगरानी गर्दै आएको छ ।

गाउँपालिकाभित्र रहेका करीब आधा दर्जन प्रहरी चौकी मार्फत प्रहरी परिचालित गरिएको उहाँले बताउनुभयो । बालश्रम लगायत सबै प्रकारका अपराधप्रति चनाखो हुन प्रहरीेलाई गस्ती बढाउन निर्देशन दिइएको छ । 


प्रतिक्रिया