‘कौडीको भाउमा खाडसारीलाई उखु’

मंसिर १४, २०७५ | बारा

चिनी उद्योगले समयमा भुक्तानी नदिएको र समयमा चिनीमिल संचालनमा नल्याएको भन्दै बारा र रौतहटको सिमावर्ती क्षेत्रका किसानले सस्तो मुल्यमा खाडसारी उद्योगलाई उखु बिक्री गर्न थालेका छन । बाराको कोल्हवी नगरपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाका किसानले सख्खर बनाउने उद्योगलाई कौडीको भाउमा उखु बिक्री गर्न बाध्य भएका छन ।

खाडसारी उद्योगले उखुको थोरै मुल्य कायम गरेपनि समयमा भुक्तानी गर्ने गरेको किसानले बताएका छन । स्थानीय किसान योगेन्द्र महतोले चिनीमिलमा उखु बिक्री गर्दा आफ्नो आवश्यकता पुरा नहुने भएकोले खाडसारी उद्योगलाई सस्तोमा उखु बिक्री गर्न बाध्य भएको बताउनुभयो । चिनी उद्योगले समयमा भुक्तानी दिए पसल अनुसारको मुल्य पाउने उहाँको भनाई थियो । 

श्रीराम सुगर मिल गरुडाले नयाँ र पुरानो गरी झन्डै १३ करोड रुपैयाँ किसानको भुक्तानी दिन बांकी रहेकाले उखु किसानले बिकल्प खोजेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताउनुभयो । 

सवा करोड रुपैयाँ गत वर्षको र त्यो भन्दा अगाडीको सवा १२ करोड रुपैयाँ चिनीमिलले भुक्तानी गर्न बाकी रहेको उनले जानकारी दिए । 

सरकार, चिनी मिल संचालक र किसान संघ बीच भएको सम्झौता अनुसार उखुको मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको थियो । उद्योगले भने सहमती विपरित ५ सय ३१ रुपैयाँ २० पैसा प्रतिक्विन्टलले उखुको भुक्तानी गरिरहेको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहाले बताउनुभयो । त्यसमा सरकारी अनुदान ६५ रुपैयाँ २८ पैसा छ । 

खाडसारी उद्योगले भने प्रति क्विन्टल ३ सय रुपैयाँमा उखु खरिद गरिरहेका छन । फतुवामा खाडसारी उद्योग संचालक गर्दै आएका जियालाल प्रसाद यादवले उत्पादन भएको सख्खरको बिक्री मुल्यको आधारमा उखुको मुल्य निर्धारण गरेको बताउनुभयो । 

 


प्रतिक्रिया