विधानमै अल्झियो कांग्रेस

मंसिर २६, २०७५ | काठमाडौं

- पार्टीको भावी विधानमाथि गुटगत स्वार्थ जोडिएपछि २ दिनमात्र बाँकी हुँदा समेत नेपाली कांग्रेसले महासमिति बैठकमा प्रस्तुत गर्ने एजेण्डालाई अन्तिम रुप दिन सकेको छैन । २ सातादेखि जारी केन्द्रीय समिति बैठकमा लामै समय विधान मस्यौदा माथि छलफल भएपनि अझै अन्तिम रुप पाउन सकेको छैन ।

संस्थापन र संस्थापन इतर पक्षबाट फरक–फरक धारणा र सुझाव आएपछि, परिमार्जनसहित विधान मस्यौदालाई एकीकृत गर्ने प्रयास समेत कठिन बनेको छ । पार्टीको विधान मस्यौदा, राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव र सांगठनिक प्रतिवेदन महासमिति बैठकले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउछ तर शुक्रवार सुरु हुने बैठकका लागि आर्थिक बाहेक अन्य प्रस्तावहरु केन्द्रिय समितिमा छलफलकै क्रममा छन् ।

विधानमा कार्यसमिति १ सय ४१ सदस्य बनाउने प्रस्ताव भएपछि सोही अनुसार पदाधिकारी समेत बढाउनु पर्ने संस्थापनइतर पक्षको माग छ । सभापति शेरबहादुर देउवा बिशेष परिस्थिति देखाउदै आफनो कार्यकाल एक वर्ष थप्ने रणनीतिमा रहेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरु आन्तरिक रणनीति तय गर्न लागेपछि नेताहरुबीचको दुरी बढ्दो क्रममा छ ।   विधानमाथिको छलफलका क्रममा केन्द्रीय सदस्यबाट प्राप्त सुझावलाई समेट्ने विषयमा समेत कांग्रेस नेताहरुबीच विवाद देखिएको स्रोतको दावी छ । गत १३ गतेबाट सुरु केन्द्रीय समितिमा विधानमाथिको छलफल गत शनिवार सकिएको थियो ।

गुटगत स्वार्थका आधारमा सदस्यहरुले केन्द्रीय सदस्यको अनुपातमा पराधिकारीको संख्या बढाउनु पर्ने, मनोनित पदाधिकारीको प्रतिशत थप्नु पर्ने, सक्रिय सदस्यता, आन्तरिक व्यवस्थापन लगायत बिषयमा धारणा राखेका थिए । प्राप्त सुझावलाई समेटेर विधान मस्यौदालाई अन्तिम रुप दिने कांग्रेस प्रयास चार दिनदेखि सफल हुन सकेको छैन । केन्द्रीय समितिको बैठकमा झै मस्यौदालाई अन्तिम रुप दिने क्रममा समेत नेताहरुबीच मत बाँझिएको छ ।

हिजो साँझबाट छलफलमा जुटेका नेताहरुले आज विधानमाथि थप छलफलको तयारी गरेका छन् । विधानलाई अन्तिम रुप दिएर आजै केन्द्रीय समितिमा प्रस्तुत गर्ने बताएपनि सहमतिका लागि शीर्ष नेतृत्वमा छलफल आवश्यक रहेको एक नेताको भनाई छ ।  

यसैबीच, आज बिहान ११ बजेका लागि बोलाईएको बैठकमा उपसभापति बिमलेन्द्र निधि नेतृत्वको समितिले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि थप छलफल हुनेछ । सो प्रस्तावमा हिजोबाट छलफल सुरु भएको हो । बैठकमा महामन्त्री शशांक कोईरालाले हिजोको बैठकमा प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले सुझाव दिने कांग्रेसले जनाएको छ । प्रतिवेदनमा उहाँले कांग्रेसलाई जनताको भरपर्दो संस्थाका रुपमा स्थापित गर्ने योजना अघि सार्नु भएको छ ।


प्रतिक्रिया