''कान्छा प्रधानमन्त्री'' तुलसी गिरीको निधन

रेडियो कान्तिपुर संवाददाता

पुस ३, २०७५ | काठमाडौं

पुर्व प्रधानमन्त्री एवम वरिष्ठ राजनितिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको ९३ बर्षको उमेरमा काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा निधन भएको हो ।

ललितपुरको भैसेँपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घर फर्किएका गिरीको आज बिहान निधन भएको हो । १९८३ सालमा सिराहामा जन्मिएका गिरी २ पटक नेपालको प्रधानमन्त्री बन्नु भएको थियो । ३६ वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेका गिरी नेपाली राजनीतिक इतिहासमा कान्छा प्रधाममन्त्रीका रुपमा समेत चिनिनुहुन्छ । 

२०१७ सालमा निर्बाचित सरकार अपदस्थ गरेपछि तत्कालिन राजा महेन्द्रले बिपी कोइरालालाई हटाएर २०१९ सालमा गिरीलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । २०३२ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । 

तात्कालिन राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रहको घोषणा गरेपछि मुलुक छाडेर श्रीलंका गएका गिरी ज्ञानेन्द्रको शासनकालमा २०५९ सालमा स्वदेश फर्कनुभएको थियो । त्यसबेला तत्कालिन राजा ज्ञानेन्द्रले उहाँलाई मन्त्रीपरिषद्को उपाध्यक्ष बनाउनुभएको थियो । 

राजतन्त्र निकट रहेर राजनितिक यात्रा अघि बढाएका गिरी गणतन्त्र आएपछि भने नेपाली राजनीतिबाट टाढिनु भएको थियो । खरो राजनीतिज्ञको छवी बनाएका गिरी पञ्चायतको पक्षधर हुनु अघि कांग्रेस नेता हुनुहुन्थ्यो । उहाँको शवलाई आज निवासमै अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने पारिवारिक श्रोतले जनाएको छ । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । माईक्रोब्लगीङ साईट ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले गिरीको निधनमा दुख व्यक्त गर्नुभएको हो । राप्रपा अध्यक्ष कमल थापाले पनि गिरीको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।   

 


प्रतिक्रिया