अन्तत: कांग्रेसमा १३ सदस्यीय पदाधिकारी हुने

पुस ६, २०७५ | काठमाडौं

लामो समयको रस्साकसीपछि अन्तत: नेपाली कांग्रेसमा १३ सदस्यीय पदाधिकारी राख्ने सहमति जुटेको छ । सहमहामन्त्री प्रकाशसरण महतका अनुसार सबै पदमा निर्वाचनबाट चयन हुने गरी पदाधिकारीमा सहमति भएको हो ।

संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे सहमति हुन नसकेपछि कांग्रेसमा दूरी बढेको थियो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको शीर्ष नेताहरुबीचको छलफलमा सभापति शेरबहादुर देउवाले १३ सदस्यीय पदाधिकारी राख्न प्रस्ताव गर्नुभएको नेता महतले जानकारी दिनुभयो ।

एकएक जना सभापति र कोषाध्यक्ष, २–२ जना उपसभापति र महामन्त्री तथा ७ जना सहमहामन्त्री बनाउने सभापति देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले सहमति जनाउनु भएको नेता महतको दाबी छ ।

सबै पदमा निर्वाचन गर्न नेताहरु सहमत देखिएका छन् । यस्तै ७ जना सहमहामन्त्री समावेशी सिद्धान्तका आधारमा निर्वाचित हुनेछन् । शीर्ष तहमा जुटेको सहमति अनुमोदनका लागि अहिले केहीबेरमा बैठक बस्ने सहमहामन्त्री महतले बताउनुभयो ।

यसअघि ८ जनाको पदाधिकारी बनाउने र त्यसमा एक एक जना उपसभापति र सहमहामन्त्री समावेशी बनाउने संस्थापन पक्षका केही नेताको प्रस्तावमाथि विवाद भएपछि सहमति जुट्न सकेको थिएन ।   

विधानमाथि शीर्ष तहमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेसले सहमतिको प्रयास सहित महासमिति बैठकलाई समेत निरन्तरता दिएको छ ।

बन्दसत्र छलेर शीर्ष नेताहरु कोठे बैठकमा केन्द्रित भएपछि रुष्ट बनेका महासमिति सदस्यहरुको माग सम्बोधनका लागि कांग्रेसले बन्दसत्रमा बाँकी प्रतिवेदन माथिको छलफललाई निरन्तरता दिएको हो ।

पार्टी कार्यालयमा केहीबेरअघि सुरु बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल जारी हुने नेता रामकृष्ण यादवले जानकारी दिनुभयो । बन्दसत्रमा सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने छन् ।

बैठकमा सदस्यहरुले विधानको मस्यौदामा देखिएको असमझदारी महासमिति बैठकबाट हल गर्न सुझाव दिंदै आएका छन् । गत बुधबारसम्मका लागि बोलाईएको बैठक अनिश्चित समयसम्मका लागि लम्बिएको छ ।  

 


प्रतिक्रिया