प्रधानमन्त्री ओलीको कार्यशैली प्रति अध्यक्ष दाहाल नै असन्तुष्ट

पुस ११, २०७५ | काठमाडौं

सत्ता नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालनमा अर्का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको ७ महिना पूरा हुँदा समेत नेकपा भित्र एमालेको अस्तित्व कायम रहेको उहाँको आरोप थियो । 

स्थायी समिति बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा सदस्यले उठाएको प्रश्नको जवाफ दिंदै अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्री भएको पार्टी अध्यक्षलाई सहयोग गर्नु अर्को अध्यक्षको जिम्मेवारी हो । कहिले काँही नखाएको बिष पनि लाग्छ ।” 

पार्टी तथा सरकार सञ्चालनमा अर्का अध्यक्ष ओलीले पर्याप्त छलफल नगरेको संकेत गर्दै अध्यक्ष दाहालले पार्टी भित्रको असन्तुष्टि बाहिर ल्याउनु नहुने र आफूले कतै नबोलेको स्पष्ट पार्नुभयो । 

पार्टी भित्र आन्तरिक एकता आवश्यक रहेको उल्लेख गर्दै दाहालले पक्ष–विपक्षले पार्टीलाई मात्र नभई मुलुकलाई नै धराशायी बनाउने तर्क गर्नुभयो । करीब २ घण्टा लामो सम्बोधनमा दाहालले भन्नुभयो, “स्थायी समितिको जारी बैठकमा समेत एमाले समुहबन्दीका रुपमा देखा पर्‍यो । माओवादी भने अलमल झैं देखियो ।” 

दुई पार्टीबीचको एकताले रणनीतिक महत्व राख्ने तर्क गर्दै उहाँले पुष मसान्तभित्र तल्लो तहसम्मको एकीकरण टुंगोमा पुर्‍याउने गरी स्थायी कमिटीबाट कार्यदल गठनको प्रस्ताव गर्नुभयो ।

अध्यक्षद्वयको भ्रमण र कार्यव्यस्थता लगायत कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताउँदै उहाँले पार्टी एकीकरण र बैठक बस्न भएको ढिलाईंको नैतिक जिम्मेवारी लिनुभयो । बैठकपछि कार्यकर्तामा एकताको सन्देश जान आवश्यक रहेको दाहालको सुझाव छ । 

बैठकपछि सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिंदै वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष दाहालको सम्बोधनले धेरै विषय समाधान भएको र आपसी असन्तुष्टि समेत सम्बोधन भएको उल्लेख गर्नुभयो ।  

प्रतिवेदनमाथि छलफलका क्रममा सदस्यहरुले उठाएको सरकार सञ्चालन सम्बन्धी प्रश्नमाथि भने प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले भोलीको बैठकमा सम्बोधन गर्नुहुनेछ । बैठक भोलि अपरान्ह ३ बजेका लागि बोलाईएको छ ।  

सचिवालय तथा स्थायी समिति सदस्यले धारणा राख्ने क्रम गत शनिबार सकिएपछि बैठक आजसम्मका लागि सारिएको थियो । अध्यक्षद्वयको प्रतिवेदनप्रति असन्तुष्टि जनाउदै नेता वामदेव गौतमले प्रस्तुत गर्नुभएको १६ पृष्ठ लामो छुट्टै प्रतिवेदनमाथि भने छलफल नुहुने नेताहरुको भनाई छ ।


प्रतिक्रिया