मेसिन पड्केर रोल्पामा १ को मृत्यु, ४ घाइते 

पुस २४, २०७५ | रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिकाको निगालपानीमा कपास फिट्ने मेसिन पड्केर १ को मृत्यु भएको छ । ४ जना घाइते छन् । मंगलबार बिहान करीब १० बजेतिर उक्त मेसिन जडान गर्ने क्रममा अचानक विस्फोट हुँदा मेसिन जोड्दै गरेका बर्दिया राजापुर  निवासी २८ वर्षीया जयकृष्ण न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पुख्र्यौली घर कालीकोट भएको प्रहरीले जनाएको छ । त्रिवेणी ४ निगालपानीस्थित तुलसीपुर–जुगार मोटरबाटो छेउमै उक्त मेसिन जडान गर्न थालिएको थियो ।

जलजला यातायात व्यवसायी समितिमा कार्यरत त्रिवेणी ६ का धनबहादुर पुन, बर्दिया जिल्ला राजापुर ५ का ४२ वर्षीय विष्णुचन्द्र न्यौपाने, जनक न्यौपाने र सल्यान जिल्ला कपुरकोट ६ का ६२ वर्षीय पहलमान पुन घाइते भएका छन् ।

मेसिन भर्खरै ल्याइएको र उक्त मेसिन हेर्न पुगेका स्थानीय समेत घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्णुचन्द्र मेसिन मालिक हुन् भने मृतक जयकृष्ण आफन्त र घाइते जनक उनका दाई हुन् । गम्भीर घाइते धनबहादुरको टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।

पुन खतरामुक्त भएको उनका ज्वाईं ऋषिकेश डाँगीले बताए । घाइतेलाई उपचारका लागि दाङस्थित अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले बताउनुभयो ।

घटना लगत्तै उद्धारका लागि त्रिवेणी बुढागाउस्थित प्रहरी चौकी कोइलाबाट प्रहरी सई यमनारायण श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेको थियो । 


प्रतिक्रिया