अवैध रुपमा ल्याएको सुनसहित वडा अध्यक्ष पक्राऊ

पुस २८, २०७५ | सिरहा

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको घुर्मीघाट खण्डबाट पौने दुई किलोग्राम काँचो सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा यत्ति ठूलो परिमाणमा पहिलो पटक अवैध सुन पक्राउ परेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सोमबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले मिर्चैया र गोलबजार नगरपालिकाको सीमा क्षेत्र घुर्मीघाटबाट शनिबार बिहान सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । 

सीमा सुरक्षा कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष मोहम्मद हकिम सहित लहान नगरपालिका–१९ का मोहम्मद रियाज राइन, मो. अमिरुल, मो. कैयुम राइन, मो. रहमान र सप्तरी खडग नगरपालिका ३ का मो. अफोज लगायत रहेका छन् ।

उनीहरुको साथबाट ६ थान हातमा लगाउने बाला र तीन थान सुनको पाता गरी १ किलो ७ सय ५७ ग्राम तथा ७ सय २० मिलिग्राम काँचो सुन, ३४ हजार ५ सय रुपैयाँ नगद सहित ६ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु सवार बीआर ३२ पीए ४६४४ नम्बरको सेतो रंगको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये रियाज गाडी चालक हुन् । अवैद्य सुनसहित तस्करहरु काठमाडौंबाट आइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा प्रहरी कार्यालयका प्रमुख गुरुङले बताउनुभयो ।

उनीहरुको साथबाट बरामद भएको कच्चा सुन, नगद तथा गाडी समेतको एक करोड २१ लाख ९३ हजार ४६४ रुपैयाँ मूल्यांकन गरी सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।

यसभन्दा अगाडि नेपाल प्रहरीबाट भारततर्फ जाँदै गरेको स–साना परिमाणको सुन पक्राऊ पर्ने गरेपनि एकै पटक ठूलो परिमाणमा बरामद भएको यो घटना भने पहिलो हो । 


प्रतिक्रिया