कर्मचारी समयोजनका लागि फाराम भर्ने अवधि आज सकिँदै 

रेडियो कान्तिपुर संवाददाता

माघ २, २०७५ | काठमाडौं

- संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न कर्मचारीलाई दिइएको अनलाइन फारम दर्ताको समय आज सकिँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समय सीमा सहित पुष ११ गते सार्वजनिक सुचना जारी गरेको थियो । आज मध्यरातीसम्म अनलाइन फारम भर्नाका लागि समय रहेको मन्त्रालयले जनाएको छ ।

हिजो साँझसम्म ७३ हजार ३ सय ३० कर्मचारीले समायोजनमा जान आफ्नो नाम दर्ता गराएका छन् । ती मध्ये ६२ हजार ४६ जनाको नाम दर्ता भईसकेको र बाँकी ११ हजार २ सय ८३ जनाको नाम प्रक्रियामा रहेको समायोजन महाशाखा प्रमुख केदार पनेरुले बताउनुभयो । निजामती किताब खानाको तथ्याङ्क अनुसार नेपालमा ८९ हजार निजामती कर्मचारी छन् । ती मध्ये ७४ हजार ५ सय ८७ जनाले निजामती किताबखातामा नाम अद्यावधिक गराएका थिए । 

आज दिनभरको अवधीमा बाँकी कर्मचारी पनि समायोजन प्रक्रियामा सहभागी हुने मन्त्रालयको दाबी छ । मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । समायोजन प्रक्रियालगत्तै अपुग कर्मचारीका लागि दरबन्दी खोल्ने मन्त्रालयको तयारी रहेको मन्त्री लालबाबु पण्डितले बताउनुभयो । 

मन्त्रालयको दरबन्दी अनुसार तीनै तहमा गरी कुल १ लाख ३८ हजार १ सय ७८ कर्मचारी आवश्यक पर्छ । परराष्ट्र, लेखा परिक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी स्वत: समायोजनमा जाने भएकाले उनीहरु दर्ता प्रक्रियामा सहभागी छैनन् । मन्त्रालयले पहिलो चरणमा सचिवलाई समायोजन पत्र दिनेछ । त्यसपछि सहसचिवहरुलाई समायोजन पत्र दिएर प्रक्रियाको सुरुवात गर्नेछ । 

अर्को साताबाटै कर्मचारीलाई समायोजनपत्र सहित कार्यक्षेत्र पठाउने मन्त्रालयको तयारी छ । 

 


प्रतिक्रिया