तिलोत्तमाका सबै घरमा एउटै ‘रङ’ 

माघ १८, २०७५ | रूपन्देही

नयाँ पहिचान र शौन्दर्यका लागि भन्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै घरमा एउटै रङ लगाउनुपर्ने नियम बनाएको छ । नगरपालिकाले नगर क्षेत्रमा बन्ने घरका लागि एउटै ‘कलर कोड’ निर्धारण गरेको हो ।

सबै घरमा नगरपालिकाले लाइट बिस्कुट अर्थात ‘खैरो’ र कपर अर्थात ‘तामा’ रङलाई कलर कोड निर्धारण गरेको  नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । यसअघि ‘सिक्स लेन’ सडक आसपासमा बन्ने घरका लागि निर्धारण गरिएको यो रङ अब सबै क्षेत्रमा कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । निर्णयसंगै नयाँ बन्ने भवनमा अब नगरपालिकाले तोकेको रंग लगाएपछि मात्र घर निर्माण सम्पन्नता प्रमाणपत्र दिइने छ ।

नगरपालिकाले हालै गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसंख्या १ लाख २५ हजार पुगेको छ । नगरपालिकाको घरनक्सा शाखाका अनुसार तिलोत्तमाममा दैनिक ३ वटा नयाँ घर थपिने गरेका छन् ।

 


प्रतिक्रिया