रोल्पाको एक घरमा आगलागी, १२ लाख क्षति

माघ २६, २०७५ | रोल्पा

रोल्पाको थबाङ गाउँपालिका–५ उवा गाउँका आश बहादुर रोकाको घरमा शुक्रबार बेलुकी आगलागी भएको छ । चिसो अत्यधिक बढेकाले काठका दाउरा बालेर आगो ताप्ने बेलामा घरमा पनि आगो सल्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा साना केटाकेटीहरु मात्रै भएका बेला उनीहरुले आगो ताप्न बालेको आगोबाट घरमा सल्किएको थियो । आगलागीबाट २ तले ढुंगाको छानो भएको घर लगेको छ । आगलागीबाट घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाकुडा सहित नगद, सुन–चाँदी जलेर नष्ट भएको हो ।

प्रहरीले संकलन गरेको प्रारम्भिक मुचुल्का अनुसार १२ लाख रुपैयाँ बरावरको क्षति भएको छ । आगलागीको सूचना पाएपछि उवास्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक राजबहादुर राना नेतृत्वको प्रहरी टोली घटनास्थल पठाइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो । स्थानीयसहित प्रहरीले शुक्रबार राति नै आगो निभाएको थियो । 


प्रतिक्रिया