कञ्चनपुरबाट थप साढे ५ किलो सुन बरामद

फाल्गुन ३, २०७५ | काठमाडौं

प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले हिजो मात्र पुनर्बास नगरपालिकाको दशरथ वस्तीबाट १८ किलो सुन बरामद गरेको थियो ।

१८ किलो सुन सहित पक्राउ परेका लक्ष्मण तिरुवाको शुक्लाफाँटा नगरपालिका ११ झलारीस्थित घरबाट प्रहरीले गएराती अवैध रुपमा राखिएको थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । सुन तस्करीमा संलग्न नभएपनि लुकाउन सहयोग गरेको भन्दै सीआईबीले लक्ष्मणका भाइ सुरज तिरुवालाई समेत नियन्त्रणमा लिएको छ ।

कैलालीमा कार्यरत सुरज नेपाल प्रहरीका जवान हुन् । सीआईबीका एसपी सुरज गिरीले १८ किलो सुन सुरजको ससुरा शंकर विकको घरबाट बरामद भएको र सो सुन लुकाउन सुरजको संलग्नता रहेको बताउनुभयो । १८ किलो सुन सहित पक्राउ परेका लक्ष्मणको वयानका आधारमा प्रहरीले गएराती नै सुनका थप ३४ बिस्कुट बरामद गरेको हो । 

भारतीय व्यापारीका चालक रहेका लक्ष्मणले गत मंसिर ७ गते सुन सहितको गाडी नेपाल भित्र्याएको प्ररम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । गाडी कोहलपुरमा भेटेपनि सुन नपाएपछि तिरुवा परिवारसँगको सम्पर्कमा आएका ती व्यापारीले ८–१० किलो सुन फिर्ता लगेपनि बांकी प्रहरी जवान सुरजको सहयोगमा लक्ष्मणले बिभिन्न स्थानमा लुकाएको भेटिएको एसपी गिरीको भनाई छ ।

सुन बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया