काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तीर्थस्थल : प्रम ओली 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ९, २०७५ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीको लागि तीर्थस्थल भएको बताउनुभएको छ । काजी कालु पाण्डेको समाधी स्थल दहचोकमा आज आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधामन्त्री ओलीले पाण्डेको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ ।

हरेक वर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धाञ्जली ब्यक्त गर्ने गर्नुभएको छ । चन्द्रागिरी नगरपालिका १ का रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गत वर्ष पाँच तले भ्यू टावर शिलान्यास गर्नुभएको थियो ।

टावरको दुई तल निर्माण भइसकेको छ । यसैगरी प्रधानमन्त्री ओलीले गत वर्ष नै कंलकी – दहचोक सडकको स्तरोन्नती हुने घोषणा गर्नु भएकोमा यस वर्ष काम धमाधम भइरहेको छ । यसैगरी मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल एकीकरणका एक जना सारथी पाण्डेले ४४ वर्षको उमेरमा नेपाल एकीकरणका लागि जीवन आहुती दिएर असाधरण योगदान गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।”


प्रतिक्रिया