सञ्चयकर्तालाई औषधी उपचार सेवा

फाल्गुन २५, २०७५ | जाजरकोट

कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई औषधी उपचार योजना अघि सारेको छ । कोषले गत माघदेखि उक्त योजना अघि सारेको हो । कोषले सञ्चयकर्तालाई औषधी उपचार, घातक रोग बीमा, सामाजिक सुरक्षा सुविधा अन्तर्गत काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति, स्वास्थ्य बीमा, सुत्केरी स्याहार खर्च लगायत सुविधा उपलब्ध गराउने भएको छ ।

कोषले औषधी उपचार खर्च १ लाख रुपैयाँ, घातक रोग बीमा १० लाख रुपैयाँ, काजक्रिया अनुदान ४० हजार, दुर्घटना बीमा २ लाख र सुत्केरी तथा शिशु स्याहार बापत ७ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने गरेको बाँकेको कोहलपुर शाखा प्रमुख महेन्द्र राज शाक्यले बताउनुभयो ।

नियमित रुपमा सञ्चय कोष जम्मा गर्ने सञ्चयकर्तालाई उक्त सुविधा उपलब्ध गराउने गरेको शाक्यले बताउनुभयो ।  कोषले सामाजिक सुरक्षा र सुविधा प्रदान गर्ने अवधारणा अन्तर्गत सञ्चयकर्ता अधिकतम हित र थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप यो योजना आएको उहाँले बताउनुभयो ।

शनिबार खलंगामा सरोकारवालासँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेर शाक्यले यस्तो जानकारी दिनु भएको हो । कार्यक्रममा सञ्चयकोषले विभिन्न बैंक, जलविद्युत आयोजना लगायत क्षेत्रमा लगानी गरेको उहाँले बताउनुभयो । सञ्चयकर्ताले कोषमा नियमित जम्मा हुने रकम र कोषबाट पाउने सुविधाका सम्बन्धमा जानकारी लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चयकर्ता लगायत सरोकारवालाई कोषको गतिविधि तथा योजनाबारे जानकारी गराउने उदेश्यले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको शाक्यले बताउनुभयो । सञ्चयकोषले घर सापटी, विशेष सापटी, शैक्षिक सापटी, सरल कर्जा लगायत सापटीका कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।

उहाँले सञ्चयकर्ताले कोषबाट के कस्ता सेवा पाउन सक्छन् र उक्त सेवा कसरी लिन सकिन्छ भन्ने बारे सरोकारवालाई जानकारी गराएका थिए । सञ्चय कोषका सम्पूर्ण गतिविधि र सेवा सुविधा बारे घरमै बसेर जानकारी लिन सकिने प्रमुख शाक्यले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले सञ्चयकोषबाट पाउने सेवा सुविधा तथा गतिविधि सम्बन्धमा खासै जानकारी नभएको बताएका थिए । प्रत्येक सञ्चयकर्तालाई केवाइसी अपडेट् गरेर कोषबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी लिन उहाँले आग्रह गर्नुभयो । 


प्रतिक्रिया