प्रहरीले अश्रुग्यास प्रहार गर्दा दुई विद्यार्थी घाइते

फाल्गुन २६, २०७५ | डडेलधुरा

शनिबार विमानस्थल कालोपत्रे गर्ने ग्रेडरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर बैतडीको पाटन क्षेत्र तनावग्रस्त भएको छ । विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुई जना विद्यार्थी समेत घाइते भएका छन् ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेवी निर्माण कम्पनीको ग्रेडरको ठक्करबाट शुक्रबार पाटन नगरपालिका २ का पूर्णानन्द पाण्डेयको मृत्यु भएको थियो । सोही कारण विद्यार्थी आन्दोलनमा उत्रिएपछि पाटन बजार बन्द हुनुका साथै यातायात सेवा पनि पूर्ण रुपमा प्रभावित भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित पक्षसँग पाटन नगरपालिका प्रमुख, स्थानीय प्रहरीले छलफल गरिरहँदा आन्दोलित विद्यार्थीहरुले ढुंगामुडा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुको साथै अश्रु ग्यास समेत प्रहार गरेको थियो ।  

विद्यार्थीहरुले भने शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठी चार्ज गरेको तथा आधा दर्जन विद्यार्थी घाइते भएको दाबी गरेका छन् । पीडित पक्ष र स्थानीय प्रशासनबीच परिवारलाई दश लाख क्षतिपूर्ति दिने, बीमाबाट पाउने रकम उपलब्ध गराउने र चालक माथि कारबाही गर्ने सहमति भएको प्रहरीले जनाएको छ ।

विद्यार्थी आन्दोलनका कारण बैतडी, दार्चुलाबाट आउने सबै सवारी साधन पाटन क्षेत्रमै रोकिएका छन् । पाटन बजार र स्थानीय शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् । 


प्रतिक्रिया