सरकारलाई विप्लवको चैत मसान्तसम्मको अल्टिमेटम 

चैत्र १२, २०७५ | काठमाडौं

सरकार र नेत्रविक्रम चन्द समुहबीच दुरी बढेको छ । दुवै पक्ष एक अर्काबिरुद्ध उत्रिएका छन् । चैत भित्र हतियार बिसाएर वार्तामा आउन सरकारले अल्टिमेटम दिए लगत्तै चन्द समुहले पनि आफ्ना गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न चैत मसान्तसम्मको समय दिएको छ । अन्यथा सरकारी कार्यक्रम गर्न नदिने र आमहड्तालसम्मको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी चन्द समुहको छ । 

गतिविधिमाथि पूर्ण रुपमा प्रतिवन्ध लगाएको २ सातापछि सरकारले हिजो हतियार बिसाएर यही चैत भित्र वार्तामा आउन चन्द समुहलाई भनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा छाडेर चैत भित्र वार्तामा नआए सम्पूर्ण रुपमा नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ ।

चन्द समुहले विकास आयोजना, दुरसञ्चारका टावर, सरकारी तथा निजी कार्यालयहरु लगायतमा विस्फोट तथा स्थानीय निकाय, व्यापारी व्यावसायी लगायतसँग चन्दा उठाउने क्रम तीब्र पारेपछि सरकार थप कठोर बनेको हो । प्रहरीले चन्द समुहका शीर्ष नेतासहित बिभिन्न जिल्लाबाट नेताकार्यकर्ता नियन्त्रणमा लिने क्रम पनि तीब्र बनाएको छ । 

जवाफमा चन्द समुहले गतिविधिमा लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ नेताकार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दसम्मको कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको लेटरप्याडमा महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भोलीदेखि चैत २४ गतेसम्मका लागि आन्दोलनका कार्यक्रममा उल्लेख छन् । जसमा नेपाल बन्द समेत समावेश छ । चौतर्फी बिरोधका बीच प्रतिवन्ध फुकुवा गर्नुको साटो थप कडा गर्दै सरकारले गृहयुद्ध र द्वन्द्व तर्फ मुलुकलाई धकेलेको आरोप विप्लवको छ । 

सरकारले चन्द समुहका मध्यकमाण्ड इन्चार्जसहितका केही शीर्ष नेतालाई नियन्त्रणमा लिदै मुलुकभर सर्च अपरेसन जारी राखेको छ । नवलपरासी प्रहरीले गएरातीमात्र पनि चन्द समुहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला कार्यकर्ता धनबहादुर मर्दनियालाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई घरबाटै पक्राउ गरेको प्रहरीको भनाई छ । हिजो मात्र प्रहरीले कोशी इन्चार्ज सहित तीन जनालाई मोरङ र कालिकोटबाट पक्राउ गरेको थियो । 

 


प्रतिक्रिया