मौसम परिर्वतनका कारण रामेछाप– लुक्काको उडान प्रभावित 

चैत्र २३, २०७५ | रामेछाप

बिहानै मौसममा आएको परिवर्तनका कारण रामेछापबाट सोलुखुम्बुको लुक्काका लागि हुने दर्जनौं उडान प्रभावित भएका छन् । बिहान ६ बजे देखि उडान हुने रामेछाप विमानस्थबाट आज साँढे ८ बजे सम्म कुनै पनि उडान हुन नसकेको रामेछाप नागरीक उडड्यन कार्यालयले जनाएको छ ।

एटीसी प्रलाद निरौलाका अनुसार तीन वटा वायुसेवा कम्पनीले रामेछापबाट लुक्का लागि आज ३० भन्दा बढी उडान गर्ने तालिका राखेका थिए । काठमाडौं विमानस्थल मर्मतका लागि बिहान ८ बजे सम्म बन्द भएका कारण निजी क्षेत्रको तारा, सीता र समिट एयरले रामेछापबाट अप्रिल १ देखि लुक्ला केन्द्रित उडान गर्न थालेका हुन् ।

हरेक कम्पनीले दैनिक सरदर १० उडान गर्ने गरेका छन् । निरौलाका अनुसार जहाजलाई उड्नका लागि उपयुक्त मौसम छैन । सोलुमा पनि त्यस्तै भएकाले आजका उडान प्रभावित भएका छन निरौलाले भन्नुभयो, ‘मौसम सफा हुने सम्भावना कमै छ ।’ रामेछापमा कालो बादल सहित पानी परिरहेको छ भने सोलुमा पनि मौसम विग्रीएको सूचना आएको छ । 

रामेछाप विमानस्थल पुगेका सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । विमान कम्पनीले काठमाडौंबाट बिहान सडक मार्गबाट ल्याएका पर्यटकहरुले होटल पाएका छैनन् । होटल व्यवस्था नहुँदा मन्थली पुगेका पर्यटकलाई कहाँ राख्ने भन्ने अन्यौल छ ।

मन्थलीमा रहेका होटलहरु विमान कम्पनीका कर्मचारी र चालकदलका सदस्यले भरिएका छन् । काठमाडौंबाट ल्याएका पर्यटकलाई सीधै सोलु र सोलुबाट आएकालाई काठमाण्डौं पठाउने गरिएको थियो ।

यसैबीच, पुष्पलाल मार्गबाट विमानस्थल सम्म पुग्ने सडक वर्षाका कारण अवरुद्ध छ । हिलोले विमानस्थल सम्म सवारी साधन लैजान सकिएको छैन । निरौलाका अनुसार सामान सहितका यात्रु कठिन यात्रा गरेर विमानस्थल सम्म पुग्न बाध्य छन् । 


प्रतिक्रिया