लमजुङमा बौद्ध सम्मेलन (फोटो फिचर)

चैत्र २४, २०७५ | लमजुङ

बिहानैदेखि पानी परेका कारण शनिबार लमजुङको बेंसीसहरका बासिन्दा बाहिर निस्केनन् । गुरुङ, मगर, तामाङ, हृयोल्मो, नेवार, चेपाङ लगायत समुदाय आ–आफ्नै पोषाकमा सजिएका थिए । पानी कतिबेला बिदा होला भनेर घरमै बसेका उनीहरु समयले नेटो काट्न खोजेपछि बाहिर निस्केर मनाङे चौतारा पुगे ।

त्यतिञ्जेलसम्म देशभरबाट आएका बौद्ध धर्मालम्बी समेत मनाङे चौतारा पुगिसकेका थिए । नाचगान गर्दै निकालिएको शान्ति र्‍याली बजार परिक्रमापछि फूलबारी मञ्चमा आएर औपचारिक कार्यक्रममा परिणत भयो । देशभरका बौद्ध धर्मालम्बी लमजुङको बेंसीसहरमा भेला भएर उनीहरुले सम्मेलन गरेका छन् ।

१२ औं राष्ट्रिय बौद्ध सम्मेलनमा देशभरका प्रतिनिधि छन् । बुद्धको जन्मस्थल नेपालमा बुद्ध धर्मको संरक्षण र यसको सम्बर्द्धन गर्न धर्मोदय सभा केन्द्रीय समितिले लमजुङमा बौद्ध सम्मेलन गरेको हो । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको कुनै एक धर्म हुन नसक्ने जिकिर गर्नुभयो । संविधानमा धर्म निरपेक्ष राष्ट्र कायम गरिएकाले सबैलाई धार्मिक स्वतन्त्रता रहेको उहाँले बताउनुभयो ।  

धर्मोदय सभा बेंसीसहर र भोटेओडारको स्थानीय व्यवस्थापनमा आयोजित सम्मेलनमा शनिबार बिहान बेंसीसहरस्थित गुम्बामा अवतारी लामाबाट वाङ (अभिशेक) थापिएको थियो । धर्मोदय सभाका केन्द्रीय अध्यक्ष यज्ञमानपति बज्राचार्यका अनुसार नेपालभरका बौद्ध धर्मालम्बीलाई एकै ठाउँमा भेला गराएर शान्तिको सन्देश दिन सम्मेलन गरिएको हो ।

नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, पूर्व सांसद जमीन्द्रमान घले, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, धर्मोदय सभाका केन्द्रीय महासचिव सागरमान बज्राचार्य, खाङसेर रिम्पोछे लगायतले सबै जातजाती, भाषाभाषी र धर्मको संरक्षण र संवर्द्धन अहिलेको आवश्यकता रहेको औंल्याए । 

कार्यक्रममा २५ हजार रुपैयाँ सहित प्राध्यापक डा. बज्रराज शाक्यलाई धर्मोदय धम्म सम्मान गरिएको थियो । यस्तै, बेंसीसहर नगरपािलका ७ क्या. रणबहादुर गुरुङ र सुन्दरबजार नगरपालिका ९, भोटेओडारका क्या. खरजंग गुरुङलाई लक्ष्मीदेवी मानन्धर स्मृति पुरस्कार दिइएको थियो ।

बौध धर्मावलम्बी ४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको सम्मेलन व्यवस्थापन समितिका संयोजक गमप्रसाद गुरुङले बताउनुभयो । पूर्वमन्त्री समेत रहेका धर्मोदय सभाका उपाध्यक्ष ईन्द्रबहादुर गुरुङले नेपालको पहिचान र धार्मिक पर्यटन अभिवृद्धिको लागि सम्मेलनलाई अवसरको रुपमा लिइनुपर्ने बताउनुभयो । 


प्रतिक्रिया