जितगढी उत्सवको अवसरमा प्रदेश ५ मा सार्वजनिक बिदा

वैशाख ७, २०७६ | बुटवल,

नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएको सम्झनामा आज रुपन्देहीको बुटवलमा विजय उत्सव मनाईंदै छ । नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन भन्दै बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि उत्सव मनाउन थालेको हो ।

बिहान ८ बजेदेखि विजय उत्सवको झल्को दिनेगरी बुटवलमा बृहत झाँकी सहितको र्‍याली निकालिएको छ । झाँकी बुटवल बजार परिक्रमा गरी जितगढी किल्ला पुग्नेछ । र्‍यालीमा तत्कालीन समयमा प्रयोग भएका हतियार बोकेका प्रहरी तथा सेना समेत सहभागी छन् ।

जितगढीमा युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिइने छ । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुटवल जाँदै हुनुहुन्छ । प्रदेश सरकारले प्रदेश दिवस घोषणा गरी आज सार्वजनिक बिदा दिएको छ । 

वि.सं. १८७२ बैशाख ७ गते बुटवलको जितगढी किल्लामा तात्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौज विरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए ।

त्यही फौजले १८७१ देखि सुरु भएको पटक–पटकको आक्रमण सामना गरेर वि.सं. १८७२ वैशाख ७ गते विजय भएको थियो । अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहेको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेज विरुद्ध युद्ध भएको थियो ।


प्रतिक्रिया