स्याङ्जाको वालिङ नगरपालिकालाई पेपरलेस र क्यासलेस बनाइने

वैशाख ७, २०७६ | स्याङ्जा

स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको स्याङ्जाको वालिङ नगरपालिकालाई पेपरलेस र क्यासलेस नगरको रुपमा अगाडि बढाउनको लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ । वालिङ नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीप प्रताप खाँण र नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानबीच सम्झौता भएको हो ।

सेवाग्राहीले नगरलाई भुक्तानी गर्नुपर्ने वा नगरपालिका कार्यालयले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाईनबाट भुक्तानी गर्ने कार्यका लागि दुई पक्षबीच सम्झौता भएको वालिङ नगरप्रमुख खाँणले बताउनुभयो । 

नगर प्रमुख खाँणले भन्नुभयो, ‘नगरपालिकाले पहिलो चरणमा नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेका छौं । भने आगामी दिनमा अन्य संस्थासँग पनि सहकार्य गर्दै लगिने छ ।’ वालिङ्को नगरबासी काम विशेषले वालिङ भन्दा बाहिर अन्य कुनै पनि ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र सोको भुक्तानी पनि मोबाईलबाट घरमै बसेर गर्न सकिने नगरप्रमुख खाँणले बताउनुभयो । 

‘अनलाईन सेवाका लागि नगरपालिकाको टिम तयारी सकेर बसेका छौं’ उहाँले भन्नुभयो,  ‘डिजिटल सिग्नेचरको पर्खाईमा छौं अनुमति प्राप्त हुनासाथ कार्यान्वयनको चरणमा अगाडि बढ्छौं ।’

वालिङ नगरपालिकाले वृद्धभत्ता, कर्मचारी तथा तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेक मार्फत गरिने भुक्तानी अब सेवाग्राहीको बैंक खातामा सीधै जम्मा गरिदिने वा नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाईनबाट सीधै बैंक खातामा जम्मा गर्न सकिने नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बताउनुभयो ।

केन्द्रीय तहमा कार्य गर्दै आएको नेपाल क्लियरिङ हाउसले अनलाईन भुक्तानी तथा यस सम्बन्धी अन्य गतिविधिहरु पहिलोपटक स्थानीय तहको हकमा स्मार्ट सिटीको रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । नगरपालिकाले अगाडि सारेको पेपरलेस अभियान र अनलाईन भुक्तानी सेवाका बारेमा नगरबासीलाई अभिमुखीकरण तालिम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया