हाईटीबाट १४ वर्षपछि नेपाली मिशन फर्कदै

वैशाख ७, २०७६ | काठमाडौं

- कुनै समय द्वन्द्व र प्राकृतिक विपत्तीले पिरोलिएको मुलुक हाइटीमा सुव्यवस्था कायम गर्न संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली सुरक्षा टोली मिशन सकाएर नेपाल फर्कदैछ । हिंसा अन्त्य गर्दै सुशासन, कानूनको पालना तथा हाईटी राष्ट्रिय सुरक्षा व्यवस्थामा सघाएको नेपाली टाली स्वदेश फर्कंदै छ ।

संयुक्त राष्ट्रसंघीय ‘मिनुष्टा’ ‘मिशन’मा महत्वपूर्ण योगदान गरेको नेपाली सुरक्षाकर्मीको टोली १४ वर्ष लामो मिशन सक्दै नेपाल फर्कन लागेको हो । हाल १ सय ४० सदस्यीय नेपाली टोली यही बैशाख १८ गतेपछि स्वदेश फर्कदै छने । हाईटीको राजधानी पोर्ट ओ प्रिन्सबाट काठमाडौंमा रहेका नेपाली सञ्चारकर्मीसँगको भिडियो कन्फ्रेंन्सका क्रममा शान्ति स्थापनाका लागी खटिएको नेपाली टोलीका कार्य आयुक्त नरेशराज सुवेदीले स्थानिय शसस्त्र समुहको सामना गर्न तथा सुरक्षा निकायको ब्यवस्थापनमा सहयोग गरेको बताउनुभयो । 

हासियन प्रहरीको सामर्थ्य भन्दा बाहिर तथा उच्च खतरा रहेका क्षेत्रमा मिशनका सुरक्षाकर्मी खटिने गरेको सुवेदीको भनाई छ ।प्रहरी संरचनाको अभाव रहेको हाइटीमा राष्ट्रसंघीय मिशनले बलियो सुरक्षा संयन्त्रको निर्माणमा सघाएको छ । सन् २००१ म २ हजार ९ सय ५० प्रहरी रहेको हाईटीमा हाल १६ हजार प्रहरी छन् । हाईटीमा सेवा र त्यागको भावनाले पुगेका नेपाल प्रहरीका महिला सदस्यको उदाहरणकै कारण महिला प्रहरीको अस्तीत्व नै नरहेको मुलुकमा प्रहरीमा कुल संख्याको १५ प्रतिशत युवती भर्ना भएको मिशनमा खटिएकी नेपाल प्रहरीकी नर्स विजया देउजाले कन्फ्रेन्सकै क्रममा बताउनुभयो । यौन हिंसा, उत्पीडन जस्ता विषयमा महिला सुरक्षाकर्मीले स्थानिय महिलालाई सचेत गराएको देउजाले बताउनुभयो ।

सन् २०१० मा हाईटीमा गएको शक्तिशाली भुकम्प, त्यसपछिको भीषण आँधी लगायतका प्राकृतिक प्रकोपका बेलामा शान्ति सेनाको महत्वपूर्ण सहयोग गरेको छ । टोलीका कार्य आयुक्त नरेश सुवेदीले भुकम्पका क्रममा स्थानिय संयन्त्रलाई सहयोग, मानविय सहायता, सँगै भिड ब्यवस्थापनामा समेत सहयोग गरेको बताउनुभयो । मिशन सकाएर पोको बाँधीरहेका नेपाली सुरक्षाकर्मीले स्थानियको सद्भाव र शान्ति सुरक्षाका निम्तिको सहयोग प्रति धन्यवाद पाएका छन् ।

 कन्फ्रेन्सका क्रममा संयुक्त राष्ट्र संघीय मिशनका प्रमुख सर्जे थेरियाल्ट र प्रवक्ता सोफी बौटौड डेला कोम्बेले हैसियनहरु नेपाली सुरक्षा टोली प्रति कृतज्ञ रहेको बताउनभयो । राष्ट्रसंघमा योगदान गर्नेको संख्यामा नेपाल पाँचौं ठुलो मुलुक हो । हाईटी सँगै लिबिया, साउथ सुडान लगायतका द्वन्द्वग्रस्त मुलुकमा हाल ५ हजार ७ सय ५७ नेपाली सुरक्षाकर्मी खटिएका छन् । हाईटी बसाईका क्रममा नेपाली क्यानटोनमेन्टबाट फैलिएको हैजा नियन्त्रणमा आएको समेत राष्ट्रसंघीय मिशनले उल्लेख गरेको छ । केही तिता र कयौं सफलताका गाथासँगै गृहयुद्धबाट शान्ति स्थापनामा सफल भएको मुलुकका सुरक्षाकर्मीले हाईटीमा शान्ति स्थापना पछि स्वदेश फर्कदैछन् ।

 


प्रतिक्रिया