राप्रपासँग सरकारले वार्ता गर्दै

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | काठमाडौं

– सनातन हिन्दु राष्ट्र स्थापना सहित २२ बुँदे माग अघि सार्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग सरकारले आज वार्ता गर्दैछ । वार्ता सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अपरान्ह १ बजेपछि सुुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन ७ गते २२ बु“दे ध्यानाकर्षण पत्र बुझाएपनि सरकारले वास्ता नगरेको भन्दै रुष्ट राप्रपा वार्ता आह्वानसहितको सरकारी पत्र पछि केही आशावादी देखिएको छ । 

सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपासँग वार्ता गर्न लाग्नु भएको हो । राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दिपक बोहोराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको टोली हिजो गठन गरेको थियो । कानुन मन्त्री ढकालले गत आइतबार राप्रपा अध्यक्ष कमल थापालाई वार्ता आह्वानसहितको पत्र पठाउनुभएको थियो ।

पहिलो चरणमा जनसंघर्षका कार्यक्रम गरीसकेको राप्रपा दोस्रो चरणको आन्दोलनको आन्तरिक तयारीमा रहेका समय सरकारले वार्ताका लागि बोलाएको हो । हिन्दु राष्ट्र, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह लगायतका माग राखेर राप्रपा गत फागुन ७ गतेदेखि आन्दोलनमा छ । 

 


प्रतिक्रिया