अर्थ समितिको टोली आज कर्णाली जाँदै

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | काठमाडौं

प्रतिनिधि सभाको अर्थ समिति आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने सुझाव संकलनका लागि आज कर्णाली प्रदेश जाँदैछ । पूर्व अर्थमन्त्री समेत रहेका नेकपाका नेता सुरेन्द्र पाण्डे संयोजकत्वको उपसमितिले हिजो धनगढीबाट सुझाव संकलन गरेको हो ।

हिजो धनगढीमा सुझाव संकलन गरी बर्दिया आएको सो टोलीले अहिले बर्दियामा सुझाव संकलन गरिरहेको संयोजक पाण्डेले जानकारी दिनुभयो । अघिल्लो वर्ष स्थानीय तहले कार्यान्वयन गर्न सक्ने साना योजनामा केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेको, एउटै आयोजना तीनै तहका सरकारको प्राथमिकतामा परेको, स्रोत पहिचान हुन नसकेको, कर्मचारी व्यवस्थापन नभएको, कर बढी लगाइएको जस्ता सुझाव आएको पाण्डेले बताउनुभयो ।

यस्तै राष्ट्रिय गौरवका आयोजनालाई सुदुरपश्चिम प्रदेशमा पनि स्थापित गराउन सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव आएको उहाँको भनाई छ । हिजो सुदुरपश्चिम प्रदेशको धनगढीबाट सुझाव संकलन गरेको पाण्डे नेतृत्वको टोलीले गण्डकी प्रदेशको पोखराबाट अन्त्य गर्ने जनाएको छ । अर्का पूर्व अर्थमन्त्री ज्ञानेनद्र बहादुर कार्की नेतृत्वको उपसमितिले प्रदेश १, २ र ३ बाट सुझाव संकलन गरिसकेको छ । सबै प्रदेशबाट सुझाव संकलन गरिसकेपछि केन्द्रमा पनि सरोकारवालासँग छलफल गरी तयार बनाएको प्रतिवेदन सरकारलाई बुझाउने समितिले जनाएको छ । 


प्रतिक्रिया