सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित 

वैशाख २४, २०७६ | काठमाडौं

- सरकारको आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र भने राजपा नीति तथा कार्यक्रमको विपक्षमा उभिए । नीति तथा कार्यक्रममाथि कांग्रेस, राजपा लगायत दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिरहादा कांग्रेस सांसदहरु उठेर विरोध गरिरहेका थिए ।

प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएको सवालमा जवाफ दिने क्रममा निम्छरो, कुण्ठासहितका प्रश्नलाई बेवास्ता गर्दै जवाफ दिने बताएपछि प्रमुख प्रतिपक्षी कांग्रस सांसदले आपत्ति जनाएका हुन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा शुरुमै प्रधानमन्त्रीले सो अभिव्यक्ति दिएपछि सांसद मिन विश्वकर्माले नियमापत्ति जनाउनुभयो । 

कांग्रेस सांसदले उठेर बिरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताएपनि बिरोध मत्थर भएन ।

सांसदहरुको बिरोधकै बीच प्रधानमन्त्री ओलीले संक्षेपमा सांसदहरुको प्रश्नको जवाफ दिनुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले संसदको मर्यादा कायम राख्न भनेपछि विपक्षी सांसदहरु थप आक्रोशित बनेका थिए । 

सांसदहरुको बिरोधकै बीच प्रधानमन्त्री ओलीको जवाफ तथा सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया शुरु गरेपछि कांग्रेस सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम हुन नसकेको भन्दै त्यो दुखद भएको बताउनुभयो । 

सरकारको नीति तथा कार्यक्रम यही वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससद्मा पेस गर्नुभएको थियो । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक आगामी शुक्रबार बस्ने गरी स्थगित गरिएको छ । बैठकमा आगामी बजेटमा समावेश गरिनुपर्ने बिषयमा छलफल हुनेछ । 

 


प्रतिक्रिया