नेपाली समुदायलाई ८ करोड रुपैयाँ सहयोग दिने अष्ट्रेलियाका अध्यागमन मन्त्रीको घोषणा

रेडियो कान्तिपुर संवाददाता

वैशाख २८, २०७६ | अष्ट्रेलिया

- अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले एक सातापछि हुने निर्वाचनमा लिबरल सरकार पुन निर्वाचित भए नेपाली समुदायको आफ्नै भवन निर्माणका लागि १ मिलियन डलर (८ करोड रुपैयाँ ) सहयोग दिने घोषणा गर्नुभएको छ । 

मन्त्री कोलम्यानले नेपालीहरुलाई आफ्नो कार्यक्रमहरु आयोजना गर्नका लागि आवश्यक सामुदायिक भवनका लागि सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो । अष्ट्रेलियामा नेपालीहरुको जनसंख्या बढिरहेको सन्दर्भमा आफ्नो भवन महत्वपुर्ण हुने भन्दै यसको निर्माणका लागि मरिसन सरकारले पुनः निर्वाचित भएको खण्डमा सहयोग दिने घोषणा गर्नुभएको हो ।

 प्रवासी नेपालीहरुको संगठन एनआरएनएको ओसिनिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले आफुसँग सामुदायिक भवन निर्माणका लागि सहयोगको आग्रह गरिएको बताउँदै एक सातापछि हुन लागेको निर्वाचनमा निर्वाचित भए सो सहयोग रकम उपलब्ध गराउने बताउनुभएको हो । 

उहाँले नेपाल र अष्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको सुनाउँदै बिशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरु तेस्रो स्थानमा रहेको समेत बताउनुभयो ।  गतबर्ष मात्रै २६ हजार नेपालीलाई विद्यार्थी भिसा दिएको तथ्यांक प्रस्तुत गर्दै उहाँले नेपालीहरुले अष्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि महत्वपुर्ण र सकारात्मक भुमिका खेलेको समेत बताउनुभयो ।

पछिल्लो केही बर्षहरुमा नेपालीहरुसँग मिलेर काम गरिरहेको जानकारी गराउँदै मन्त्री कोलम्यानले नेपालीहरु अष्ट्रेलियाको लागि महत्वपुर्ण अंग रहेको बताउनुभयो ।

नेपालीहरुको आफ्नै भवन निर्माणार्थ सहयोगका लागि अष्ट्रेलियन नेप्लिज एसोसिएसन मार्फत नेपालीहरुले पहल गर्दै आएका थिए । अष्ट्रेलियामा यही मे १८ मा हुन गइरहेको निर्वाचनमा नेपाली मतदाताको मत आफ्नो पार्टीको पक्षमा पार्न समेत सो घोषणा आएको विष्लेषण गरिएको छ । 

यसैबीच ‘इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नारा दिएर आजदेखि शुरु भएको एनआरएनए ओसिनिया सम्मेलनमा अष्ट्रेलियाका अन्य नेताहरुका साथै विभिन्न देशका एनआरएन प्रतिनिधीहरुका साथै नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदुत द्रुपदा सापकोटा, एनआरएनए अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, उपाध्यहरु कुमार पन्त र कुल आचार्य, पुर्व अध्यक्ष शेष घले, ओसिनिया संयोजक धर्मराज अधिकारी, अष्ट्रेलिया अध्यक्ष टोनु घोताने लगायतका उपस्थित छन् । दुईदिनसम्म चल्ने सम्मेलनले नेपालमा लगानी विस्तार, पर्यटन प्रबर्द्धन लगायतका क्षेत्रमा महत्वपुर्ण निर्णय गर्ने विश्वास लिइएको छ । 

 


प्रतिक्रिया