७८ लाख धरौटी बुझाएर छुटे अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक

जेष्ठ १, २०७६ | काठमाडौं
सेवाग्राहीसँग घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।
बिशेष अदालतका न्यायाधीश एवं अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सो रकमको बैंक ग्यारेन्टी राखेर पाठक रिहा भएका हुन् । अदालतमा उनले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएका हुन् ।
अख्तियारले गत चैत १२ गते आफ्नै पूर्व आयुक्त पाठकविरुद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतले उपस्थीत जनाउन पत्राचार गरेपछि उनी आज विहान सुटुक्क अदालत पुगेका थिए ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउन कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए ।
पाठकको राजिनापछि अख्तियारले छानबिन सुरु गरेको हो । भ्रष्टाचार निवार गर्ने संवैधानिक निकाय अख्यिारका पूर्व आयुक्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना हो ।