मिडिया काउन्सिल विद्येयक प्रेस स्वतन्त्रता विरोधी : नेता थापा

जेष्ठ २, २०७६ | जाजरकोट

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले मिडिया काउन्सिल विद्येयक प्रेस स्वतन्त्रता विरोधी भएको बताउनु भएको छ । लोकतान्त्रिक ब्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विद्येयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको थापाले बताउनुभयो ।

प्रेस स्वतन्त्रता विरोधी सो विद्येयक विरुद्ध सञ्चार जगत मात्र हैन आम नेपाली जनता जाग्नु पर्ने थापाको भनाई छ । नेता थापाले कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत पार्टीले जाजरकोट क्षेत्र नं २, क्षेत्रीय कार्य समितिले थलहबजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पूर्व मन्त्री समेत रहेका नेता थापाले दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै गएको आरोप लगाउनुभयो । वर्तमन सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा राख्ने हर्कत गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, ‘गणतान्त्रिक ब्यवस्थामा जनताले नागरिक अधिकारको उपभोग गर्न पाउनु पर्छ, त्यस्तै पत्रकारले गलतको कामको विरोधमा लेख्न र बोल्न पाउनु पर्छ ।’ 

दुई तिहाईको सरकारले जनताका लागि गर्नु पर्ने काम त गरेन/गरेन, गर्न नहुने काम समेत गर्न थालेको थापाले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति सडकमा निस्कँदा समेत जनताको भागभाग हुन्छ, जस्का कारण गणतान्त्रिक ब्यवस्था प्रति जनतामा आक्रोस पैदा भएको छ ।’ 

पछिल्लो समय नेपाली कांग्रेस कमजोर नभएर जिम्मेवार भएको भन्दै उहाँले गणतन्त्र, संविधान कार्यान्वयन र राजनीतिक मूल्यमान्यता प्रति जिम्मेवार भएको उल्लेख गर्नुभयो । जनजागरण अभियानमा कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाह, नेता वेदराज सिंह, शेरबहादुर शाही लगायत सहभागिता रहेको छ ।

जाजरकोट कांग्रेसले जनजागरण अभियान अर्न्तगत सदरमुकाम खलंगा र छेडागाड नगरपालिकाको थलहबजारमा कार्यक्रम सम्पन्न गरेको छ । सोही अभियान अर्न्तगत कांग्रेसले नलगाड नगरपालिकाको दल्ली, बारेकोटको लिम्सा, कुशे गाउँपालिकाको भार्म, भेरी नगरपालिकाको स्याउलीबजार लगायत स्थानमा कार्यक्रम आयोजना गर्न लागेको नेता वेदराज सिंहले बताउनुभयो । 


प्रतिक्रिया