डेढ अर्ब लागतमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण सुरु

जेष्ठ १३, २०७६ | बुटवल

प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा अन्तर्राष्ट्रिय मापदण्डको स्थायी प्रदर्शनी केन्द्र निर्माण सुरु भएको छ । पूर्व अर्थमन्त्री तथा सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले सो प्रर्दशनी केन्द्रको शिलान्याश गर्नुभयो । रामनगरस्थित बुटवल मण्डपको पश्चिम तर्फको १० बिघा क्षेत्रफलमा डेढ अर्ब लागतमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण हुनेछ ।

प्रर्दशनी केन्द्र निर्माणका लागि क्यापासिटी इन्फा प्रोजेक्ट गौरी पार्वती जेवी कम्पनीले २७ महिनाभित्र सक्ने गरी ठेक्का पाएको छ । संघीय सरकारको शहरी विकास मन्त्रालयको आयोजना प्रमुख शिखर लामा तामाडका अनुसार प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल हुनेछ ।

१२ हजार स्क्वायर मिटरमा निर्माण हुने सो हलमा चार स्क्वायर मिटरका साढे ३ सय स्टल अट्ने छन् । दुई वटा बैठक हल, प्रशासनिक भवन र खाजा घर समेत बनाइने छ । बैठक हल एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सयको बनाइने छ ।

प्रदर्शनी केन्द्रमा बाल उद्यान र खुल्ला प्रदर्शनी क्षेत्र समेत हुनेछ । देशकै नमुनाका रुपमा स्थापना हुने प्रदर्शनी केन्द्रको भित्र भृकुटी मण्डपमा जस्तै खुला राखिनेछ । वर्षेनी राष्ट्रिय स्तरका मेला तथा महोत्सव सञ्चालन हुने बुटवलमा प्रदर्शनी केन्द्रले निकै सहज हुने व्यवसायीहरुको भनाइ छ । यसले महोत्सवका लागि उद्योगी व्यवसायीहरुले गर्ने अस्थायी पूर्वाधारको लगानी बच्ने भएको छ । 


प्रतिक्रिया