आधा शताब्दीमा ४० वटा पोखरी मासियो

जेष्ठ १८, २०७६ | काठमाडौं

काठमाडौं उपत्यकाका प्राचीन पोखरीहरु मासिंदै गएको छ । उपत्यका भित्र २००७ सालयता ४० वटा पोखरी र ५२ वटा ढुंगेधारा मासेको पाइएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार २ वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

बोर्डको तथ्यांक अनुसार काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, कीर्तिपुर नगरपालिका लगायत उपत्यकाका १० वटा नगरपालिकामा २ सय ३३ वटा पोखरी र ५ सय ७३ वटा ढुंगेधारा छन् । तर, स्थलगत अध्ययनका क्रममा एक सय ९३ वटा पोखरी र ४ सय ७९ वटा मात्र ढुंगेधारा भेटियो । जसमध्ये एक सय ७१ वटा ढुंगेधारामा पानी बगेको र एक सय ६९ वटा ढुंगेधाराको पानीमा ईकोली संक्रमण पाइएकोले पानी प्रशोधन नगरी पिउन नमिल्ने देखिएको छ ।

बोर्ड अनुसार ललितपुरमा ६१, काठमाडौंमा एक सय ६५, र्कीतिपुरमा ११, मध्यपुर थिमीमा ६५ र भक्तपुरमा ८७ वटा ढुंगेधारा छन् । जसमध्ये ललितपुरमा ४७ वटा सञ्चालन, ७ बन्द र ७ मासिसकेको, काठमाडौंमा ३३ मासिसकेको, ३४ बन्द र ९६ सञ्चालन, र्कीतिपुरमा १० सञ्चालन र एउटा मासेको, मध्यपुर थिमीमा ४७ सञ्चालन, ९ बन्द र ३ मासिसकेको र भक्तपुरमा ३३ सञ्चालन, १८ बन्द र एउटा मासिसकेका छन् ।

प्रतिवेदन अनुसार भक्तपुरमा यी ढुंगेधाराबाट प्रति दिन सुख्खायाममा एक लाख ५ हजार ४ सय ७७ लिटर र बर्खायाममा २ लाख २४ हजार ७ सय ५८ लिटर, मध्यपुर थिमिमा २ लाख ३ हजार ३ सय ५० र ४ लाख ३९ हजार ९ सय १६ लिटर पानी झर्छ ।

कीर्तिपुरमा सुख्खायाममा प्रति दिन २० हजार, ५ सय ५३ लिटर र बर्खायाममा एक लाख २४ हजार ३ सय ८८ लिटर, ललितपुरमा १७ लाख ५९ हजार एक सय र ४६ लाख ८८ हजार ८ सय ८६ लिटर र काठमाडौंमा ८ लाख ५८ हजार ९ सय ६२ र २२ लाख १८ हजार एक सय ४३ लिटर पानी झर्छ ।

तथ्यांक अनुसार भक्तपुर नगरमा ३८ मध्ये ५ वटा, चन्द्रागिरीमा २० मध्ये २, गोदावरीमा २८ मध्ये २, काठमाडौंमा १५ मध्ये एक, कीर्तिपुरमा १० मध्ये एक, ललितपुर महानगरमा ६५ मध्ये १६, मध्यपुरथिमीमा २० मध्ये ३, महालक्ष्मीमा २० मध्ये ६, शंखरापुर नगरमा १० मध्ये ३, टोखामा ७ मध्ये एक पोखरी मासिसकेका छन् ।

खानेपानी मन्त्री विना मगरले प्राचीनकालमा सीप र कला प्रयोग गरेर बनाइएका यी ढुंगेधराको तथ्यांक संकलनले रणनीतिक महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘आधुनिकरणसँगै ढुंगेधारा, ताल तलैयाको महत्व घट्दै गयो । अव्यवस्थित शहरीकरणले पोखरीको दुषित पानीको दुर्गन्धले रोग लाग्ला जस्तो भयो,’ उहाँले भन्नुभयो, ‘तथ्यांक संकलनले प्राचीन सम्पदासँग जोड्न भूमिका खेल्न मद्दत गर्छ ।’

उहाँले कार्यान्वय पक्षमा चुनौती भएपनि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । ‘तथ्यांक संकलन ढुंगेधारालाई जिवन्त दिने आधार तय भएको छ,’ उहाँले भन्नुभयो, ‘यसलाई जीवन्त दिनसकेमा बस्तीमा थपिने सौन्दर्यले पर्यटकलाई आर्कषित गर्न सकिन्छ ।’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तीर्जराज भट्टले पनि स्थानीय तहसँग समन्वय गरेर ढुंगेधारा तथा पोखरीको संरक्षण गरिने बताउनुभयो । 


प्रतिक्रिया