यार्सा टिप्न गएका २ को मृत्यु 

जेष्ठ १८, २०७६ | जाजरकोट

 यार्सागुम्बा टिप्न डोल्पाको फुलबारी पाटनमा गएका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १, दलित आगरका १८ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका वडा नं.६, धुमका १८ वर्षीय रमेश चलाउनेको लेक लागेर मृत्यु भएको हो ।

उनीहरु दुवै जना शुक्रबार यार्सा संकलनका लागि फूलबारी पाटनमा चढ्दै गर्दा लेक लागेर बिरामी परेका थिए । लेक लागेर सिकित्स बिरामी परेका उनीहरुलाई उपचारका लागि सेफोक्सन्डो ल्याउँदै गर्दा चलाउनेको बाटोमै र नेपालीको उपचारका क्रममा आज मृत्यु भएको इश्वरी बक्स गुल्म सुलीगाड डोल्पाका क्याप्टेन कुमार थापाले बताउनुभयो ।

यार्सा टिप्न गएका दर्जनौं मानिसहरु लेक लागेर बिरामी परेको उहाँले बताउनुभयो । लेक लागेर बिरामी परेकालाई उपचारमा समस्या भएको उहाँको भनाई छ । यार्सा टिप्न गएकालाई टाउको दुख्ने, रिंगटा आउने, ज्वरो आउने, हातखुट्टा दुख्ने, दम लाग्ने, श्वासप्रश्वास बन्द हुने लगायत समस्या भएको क्याप्टेन थापाले बताउनुभयो । 


प्रतिक्रिया