विद्यार्थी कुट्ने ‘गुरुमा’ पक्राउ

जेष्ठ २०, २०७६ | रोल्पा

- रोल्पामा विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकालाई प्रहरीले पक्राउ गरेको छ । १४ विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा दक्षिणी रोल्पाको रुन्टीगढी गाउँपालिका–५ झेनामस्थित भानु आधारभूत (प्रस्तावित) विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । विद्यालय सुरु हुनु अघिको प्रार्थनाको अवधिमा ढिला आएको भन्दै शिक्षिका पुनले गत जेठ १२ गते १४ जना छात्रछात्रामाथि अन्धाधुन्ध कुटपिट गरेकी थिइन् ।

ती विद्यार्थीमध्ये ५ जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि दाङको तुलसीपुरमा ल्याइएको छ । घटना भएको एक सातापछि मात्रै सार्वजनिक भएको हो । त्यसअघि जनप्रतिनिधिको उपस्थितिमा घटनाको मेलमिलाप गरिएको थियो । तर केही विद्यार्थीको अवस्था गम्भिर बनेपछि उनीविरुद्ध उजुरी परेको हो । आरोपित शिक्षिकालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो । 

 


प्रतिक्रिया