बढ्दो गर्मी  : चितवनका ६ स्थानीय तहमा तीन दिन स्कुल विदा

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | चितवन

- गर्मी बढेसँगै चितवनका सातमध्ये ६ वटा स्थानीय तहले तीन दिन स्कुल विदा घोषणा गरेका छन् । भरतपुर महानगरपालिकासहित राप्ती, खैरहनी, कालिका, रत्ननगर र माडी नगरपालिकामा आज, भोलि र पर्सीका लागि  सबै  स्कुलहरु बन्द गरिएका छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना पहाडी क्षेत्रमा पर्ने भएका कारण गर्मी विदा भएको छैन ।

गाउँपालिका अध्यक्ष गीता गुरुङले पहाडी क्षेत्र भएका कारण गर्मीको चर्को समस्या नभएको हुँदा इच्छाकामाना गाउँपालिकाले विद्यालय बन्द नगरेको बताउनुभयो । जिल्लाको मैदानी क्षेत्रमा भने जेठको अन्तिमदेखि चर्को गर्मी सुरु भएको थियो ।

गर्मी अत्याधिक बढेका कारण वर्षे विदाबाट कटौती हुने गरेर महानगरभित्रका विद्यालयमा तीन दिन विदा दिएको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनुभयो ।चितवनमा पछिल्ला दिनहरुमा तापक्रम ३८ डिग्रीको हाराहारीमा पुग्ने गरेका कारण स्कुले विद्यार्थी गमृिको चपेटामा परेका थिए । चितवनका अधिकांस विद्यालयमा दिउँसो नै पढाइ हुने गरेको छ । 

 


प्रतिक्रिया