मतपत्र च्यातेको मुद्दामा एक एक लाख जरिवाना

रेडियो कान्तिपुर संवाददाता

असार १६, २०७६ | चितवन

मतपत्र च्यातेको मुद्दामा दोषी ठहर दुई जनालाई जिल्ला अदालत चितवनले एक/एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा भरतपुर महानगरको मतपत्र च्यातिएको घटनामा अदालतले गत जेठ ३० गते तात्कालीन माओवादी केन्द्रका द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई दोषी ठहर गरेको थियो ।

जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको एकल इजलासले सिवाकोटी र न्यौपाने दोषी ठहर भएको २ सातापछि बल्ल आज सजाय तोकेको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताउनुभयो  । 

उनीहरुविरुद्ध जिल्ला अदालतमा २०७४ जेठ १७ गते मुद्दा दायर भएको थियो । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा रहेका समय २०७४ जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । सिवाकोटी र न्यौपाने दुवै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जिल्ला समिति सदस्य हुन् ।   


प्रतिक्रिया