रोल्पामा स्नातक तहको कृषि क्याम्पस सञ्चालन हुने

असार १७, २०७६ | रोल्पा

रोल्पाको माडीचौरमा स्नातक तहको क्याम्पस सञ्चालनमा आउने भएको छ । आगामी असोजदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । क्याम्पस स्थापनाका लागि आवश्यक जग्गा खरिद गरिसकिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले क्याम्पस सञ्चालनका लागि १ सय रोपनी क्षेत्रफलको जग्गा खरिद गरिएको बताउनुभयो । उहाँका अनुसार आगामी असोजदेखि क्याम्पसमा वन र कृषि विषयको स्नातक तहको पढाई थाल्ने तयारी भइरहेको छ । क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा र अन्य सहयोग स्थानीयले गरेका छन् ।

क्याम्पस निर्माण गर्न चाहिने जग्गा स्थानीय इर्खराम पुन र नौलसिंह पुन लगायतले प्रदान गर्ने भएका छन् । केही जग्गा निःशुल्क प्राप्त भएको हो भने केहीको मुआब्जा दिइएको हो । क्याम्पस स्थापना गर संचालन हुने भएपछि जिल्लाबासी नै खुशी भएका छन् ।

तीन वर्ष अघिदेखि रोल्पा नगरपालिकाको माडीचौरमा स्नातक तहको कृषि क्याम्पस स्थापना गर्न पहल थालिएको थियो । क्याम्पसलाई आवश्यक पर्ने थप एक सय रोपनी क्षेत्रफलको जग्गाको खोजी समेत भइसकेको अध्यक्ष घर्तीमगरले बताउनुभयो । नगर प्रमुख पूर्ण केसीले क्याम्पस सञ्चालनका लागि आवश्यक हुने बिजुली बत्ती र सडक सञ्जाल निर्माण कार्य भईरहेको बताउनुभयो । क्याम्पसका लागि आवश्यक भवन निर्माण भइनसकेकाले माडीचौरमा केही भवन खरिद गरेर भएपनि पढाइ थाल्ने उहाँले बताउनुभयो । 

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको समन्वयमा रोल्पामा आर्थिक वर्ष २०७४/७५ देखि क्याम्पस स्थापना गर्न पहल थालिएको थियो । क्याम्पस स्थापना गर्ने सम्बन्धमा पटक पटक विश्वविद्यालयको विशेषज्ञ टोलीले यसअघि अनुगमन गरिसकेको छ ।

विशेषज्ञ टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययनका क्रममा जिल्लामा कृषि क्याम्पस स्थापना गर्नु आवश्यक भएको प्रतिवेदन दिएको थियो । टोलीले क्याम्पसलाई २ सय रोपनी क्षेत्रफलको जग्गा आवश्यक भएको प्रतिवेदन दिएको थियो । क्याम्पसमा वन विज्ञान तथा कृषि विषयमा अध्ययन अध्यापन हुनेछ । कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिंदै जिल्लाका नेताहरुले विशेष चासो र पहल थालेपछि क्याम्पस स्थापना हुन थालेको हो । 


प्रतिक्रिया