पहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध

रेडियो कान्तिपुर संवाददाता

श्रावण १०, २०७६ | धनकुटा

लगातारको वर्षा पछिको पहिरोका कारण कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले धरान धनकुटा सडक खण्डको लावरबोटेमा करीब ५० मिटर लामो सडकमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

सडकमा ढुङ्गा र लेदो माटो थुप्रिएपछि बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । पहिरो पन्छाउन एउटा डोजर र प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख एपी सुदर्शनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन कम्तिमा ५ देखि ६ घण्टा समय लाग्ने भएकोले धरान–धनकुटा खण्डमा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । सवारी साधन नचलेपछि सो स्थानमा सयौं यात्रु अलपत्र परेका छन् । धनकुटा भएर संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका जिल्लातर्फ जाने सवारी साधन समेत बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउन समय लाग्ने भएकाले साँझ सम्ममा यातायात सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ । यसैगरी, आज बिहान धरान–धनकुटा खण्डको गर्जुवा खोलामा आएको बाढीसँगैका लेदोका कारण चार घण्टा यातायात अवरुद्ध भएको थियो । सो स्थानको बाटो खुले लगत्तै पुनः लावर बोटेमा क्षति पुगेको छ ।

अविरल वर्षाले धनकुटा कै मुढेबास, मौना बुधुकमा समेत दुई घर र एक गोठ भत्किएको प्रहरीले जनाएको छ । घटनामा एक स्थानीय घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 


प्रतिक्रिया