डुबान पीडितको तथ्यांकमा राजनीति 

श्रावण २१, २०७६ | सिरहा

जनप्रतिनिधिको लापरबाहीका कारण सिरहाका बाढी तथा डुबान पीडित राहत पाउनबाट वञ्चित भएका छन् । जनप्रतिनिधि सहितको टोलीले तथ्यांक संकलनका क्रममा आफन्त र कार्यकर्ताको समेत नाम राखेपछि वास्तविक पीडित राहत पाउनबाट वञ्चित भएका हुन् । 

तथ्यांक संकलन टोलीले वास्तविक पीडितको नाम छुटाएर गैरबाढी पीडितको नाम पीडितको सूचीमा राखेको पाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पीडितको नामाबली संकलन गर्न प्रहरी, रेडक्रस, वडाध्यक्ष वा वडाको प्रतिनिधि र स्थानीय राजनीतिक दलको प्रतिनिधि सम्मिलत टोली बनाउने निर्णय गरेको थियो । सोही टोली तथ्यांक संकलनमा परिचालन गरिएको थियो । तर, टोलीमा राजनीतिक दलका प्रतिनिधि र वडाध्यक्ष हाबी भएको पाइएको छ ।

सिरहाको सखुवानन्कारट्टी गाउँपालिका १ का बाढी र डुवान पीडित परिवारलाई राहत सामग्री वितरण नगरी फर्जी पीडित बनाएर आफ्ना र दलका कार्यकर्तालाई राहत सामग्री वितरण गरेको आरोप लगाउँदै पीडितले वडा कार्यालय नै घेराउ गरेका थिए । 

मौवाहीका भूमीहीन दलित धनबीर सदा र उर्मीला सदा मुसहरको फुसको छाप्रो वर्षाको भेलले लड्यो । घर लडेपछि चरम गरिबीको कारण घर निर्माण गर्न नसक्दा यी पीडित तीन सातादेखि खुल्ला आकाशमुनि रात बिताउँदै आएका छन् । तर, यी पीडितहरुले अहिलेसम्म राहत त पाएनन् । उनीहरुको पीडितको सूचीमा समेत नाम छैन । धनबीर र उर्मीला मात्र होईन बाढी र डुबानले  मौवाही गाउँको  मुसहरी बस्तीको २२ घर क्षति भएको छ । तर यस बस्तीका बाढीपीडित उनीहरुले राहत नपाएको गुनासो पोखे ।

‘घर लड्यो, घरबार बिहीन भयौं’ उर्मीला सदाय मुसहरले दुःखेसो गरिन ‘राहत पाउने आशामा थियौं, राहत बाड्न आउँदा हामी राहत पाउनबाट वञ्चित भयौं ।’ ‘राहत त पाएनौं’ निरक्षर उनले पढे लेखेकालाई नाम हेर्न लगाईन तर सूचीमैं नाम नभएपछि थप पीडामा परेको सुनाइन । उर्मीला मात्र होइन राहत लिन हतारिएर पुगेकी गीता राय पनि आफ्नो नाम सूचीमैं नभएपछि निरास भएर घर फर्किन ।

बाढीले घर भत्काएपछि छिमेकीको घरमा आश्रय लिइरहेकी औरही गाउँपालिका ४ की अमिरिका देवी यादव राहत वितरण भइरहेको खबर सुनेर सुन्दर जनता माविमा पुगिन । दिउँसो १२ बजेको घाम नभनी लाइनमा बसेकी उनी रित्तो हात घर फर्किइन । कारण पीडितको नामावलीमा उनको पनि नामै थिएन । पीडितको ‘परिचय पत्र’ वितरण भइरहेको ठाउँमा गएर उनले आफ्नो नाम खोज्न पढेलेखेका व्यक्तिलाई लगाईन । तर, उनको नामै भेटिएन । 

‘छिमेकीको घरमा बसेको बेला वडाध्यक्ष, प्रहरीले नाम लेखेर लगेको थियो’ उनले दु ःखेसो पोखिन ‘तर, राहत लिन आउँदा नामै नभेटेपछि रितै फर्किदैछु ।’ उनी जस्तै सोही वडाका रामगणेश सदाय, सवित्री देवी यादव, सरिता देवी यादव पनि राहत लिन आएका २५ जना भन्दा बढी परिचय पत्र पाउने सूचीमा नामै नभेटिएपछि रित्तो घर फर्के । 

सखुवानन्कारकट्टी र औरहीका बाढीपीडित मात्र होइन जिल्लाका अन्य स्थानका बाढी पीडितले गाउँका ठुलाबडाले आफ्नो आसेपासेलाई पीडितको नाममा राखेपछि राहत पाउनबाट आफूहरु वञ्चित हुनुपरेको गुनासो पोखे । 

बाढीले घरबारबिहीन भएका, दलित गरीब, भूमिहीनहरुले राहत पाउनुको साटो हुनेखाने र बिघौं जमीन जोत्नेहरुले राहत पाएको गुनासो पोखे । सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ का सचिव घुरन यादवले राहतमा धनी गरीब नहुने भएकाले गाउँपालिकाले पठाएको पीडितहरुको सूचीको आधारमा राहत सामग्री वितरण गरेको बताउनुभयो ।  

वास्तविक बाढी पीडितहरुलाई राहत वितरण नगरी फर्जी विवरण तयार गरी हुने खानेलाई गाउँपालिकाले राहत वितरण गरेको विरोधमा स्थानीयहरुले वडा कार्यालय घेराउ समेत गरे । सखुवानन्कारकट्टी गाउँपालिकामा ३ सय ९१ परिवार प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच गाउँपालिकाले पीडितको सूचीमा विरोध भएपछि गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवको संयोजकत्वमा वडाध्यक्षहरु, प्रहरी, रेडक्रस प्रतिनिधि, सञ्चारकर्मी सम्मिलित अनुगमन टोली गठन गरेको छ । उता, औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवले केही व्यक्तिहरुले आफूहरुको नाम छुट भएको भन्दै गाउँपालिकामा निवेदन दिएको र निवेदन दिएकाहरुको घर निरीक्षण गरी उनीहरुलाई राहत उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले कोही पनि वास्तविक पीडितलाई राहतबाटवञ्चित नगराइने बताउनुभयो ।  

प्रदेश २ सरकारबाट २५ किलो चामल, ४ किलो दाल, एक एक वटा म्याट, झुल १, तेल १ लिटर, साबुन २ थान सहितका समान प्रति पीडित परिवारलाई राहत स्वरुप वितरण गरिएको छ । यस्तै रेडक्रसले ३० किलो चामल, ४ किलो दाल, कम्बल र त्रिपाल १/१ थानका दरले वितरण गरेका छन् ।

तथ्यांक नै फरक  :

औरही गाउँपालिका २ तुलसीपुरमा वास्तविक बाढी पीडित छुटेको र गैरबाढी पीडितको नाम पीडितमा राखेपछि विवाद भएको थियो । विवाद पछि त्यहाँ १८ जना गैरबाढी पीडितको नाम हटाएर केही वास्तविक पीडितलाई थप गरिएको थियो । सिरहा नगरपालिका ६ मा वडाध्ध्यक्षले संकलन गरेको तथ्यांक र जिल्ला विपद् व्यवस्थापन समितिबाट खटाइएको टोलीले गरेको तथ्यांकमा फरक पर्‍यो । त्यसैगरी सोही नगरपालिका १७ मा पनि उही समस्या दोहोरीयो ‘तथ्यांकमा हेरफेर’ । वडाध्यक्षले फरक फरक तथ्यांक पेश गरेपछि तथ्यांकमा फरक परेको थियो । 

जिल्ला विपद् व्यवस्थापन समितिले परिचय पत्रका आधारमा राहत वितरण गरिदा सही पीडितको हातमा राहत पुग्ने, दोहोरिने र पीडित राहतबाट वञ्चित नहुने भएकाले ‘परिचय पत्र’ लागू गर्‍यो । बाढी पीडितको नामावली संकलन गर्न प्रहरी, रेडक्रस, वडाध्यक्ष वा वडाको प्रतिनिधि र स्थानीय राजनीतिक दलको प्रतिनिधि सम्मिलत टोली बनाउने निर्णय गरेको थियो । प्रहरी र रेडक्रसको प्रतिनिधि वडामा पुग्दा कतिपय ठाउँमा वडाध्यक्षले नै टोलीलाई संकलनमा सहयोग गरेनन् ।

‘प्रभावितहरुको तथ्यांक संकलनमा केही गडबड देखिएको छ,’ सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भन्नुभयो, ‘त्यसलाई सच्चाउने कार्य भइरहेको छ ।’ केही वडाध्यक्षहरुले पीडितको नाम काटेको र थपेको पाइएकाले तथ्यांकमा केही फरक पाइएको उहाँले जानकारी दिनुभयो । प्रहरी र रेडक्रसको प्रतिनिधि खटाएर फेरी तथ्यांक संकलन भइरहेको उहाँले बताउनुभयो ।

बाढी पीडितको नाममा जनप्रतिनिधिले राजनीति गरिरहेको अधिकारकर्मी राजकुमार राउत कुर्मीको आरोप छ । ‘वास्तविक पीडितलाई पनि पार्टीगत रुपमा हेरेर विभेद गरेपछि उनीहरुले राहत पाउन सकेका छैनन्,’ उनले भने ‘विपद्मा राजनीति गर्नु उचित होइन् ।’ स्थानीय सरकार सहयोगी बन्नुपर्ने उनले सुझाए ।

सिंचाइका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा गत असारमा परेको लगातारको वर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए । बाढी र डुबानबाट सब ैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढी पीडित छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ४ हजार ५ घर पूर्ण प्रभावित भएका छन् । त्यसैगरी ७ हजार ७ सय ७१ परिवार आंशिक प्रभावित भएका छन् । बाढीमा परी सिरहामा ५ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया