कार्यालयमा भेटिदैनन् कर्मचारी

श्रावण २४, २०७६ | जाजरकोट

जाजरकोटका विभिन्न सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा २३ जना कर्मचारी अनुपस्थित रहेको फेला परेका छन् । जिल्लाका १३ वटा कार्यालयको अनुगमन तथा निरीक्षणका क्रममा कर्मचारी बिना जानकारी कार्यालय अनुपस्थित भएको फेला परेको हो । 

प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको नेतृत्वको टोलीले बिहीबार सरकारी कार्यालयको अनुगमन गरेको थियो । जिल्लामा रहेका संघीय र प्रदेश सरकारले सो कार्यालयमा अनुगमन गर्दा दुई दर्जन कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । 

कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के जाँच, सार्वजनिक सेवा प्रवाह, सुशासनको अवस्था लगायतमा केन्द्रित रहेर अनुगमन तथा निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बिना सूचना कार्यालय छोडेर घर तथा अन्यत्र जाने र सरकारी सेवा प्रवाहलाई अस्तव्यस्त बनाउने कार्यालय प्रमुख र कर्मचारीलाई निगरानी गर्न कार्यालयको अनुगमन गरेको उहाँको भनाई छ । 

कार्यालयमा कर्मचारी नबस्ने गरेको जनगुनासो आएपछि अनुगमनलाई थप तीब्रता दिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । कतिपय सरकारी कार्यालयमा कर्मचारी नहुँदा दुर्गमका स्थानीय सरकारी सेवा पाउनबाट वञ्चित भएका छन् । स्थानीय तहमा कर्मचारी अभाव र भएका कर्मचारी पनि कार्यालयमा नियमित नआउँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

संघीय सरकार अर्न्तगतका ५ वटा, प्रदेश सरकार मातहतका ६ र अन्य २ सरकारी कार्यालयको अनुमगन तथा निरीक्षण गरेको छ । अनुगमन क्रममा २३ जना कर्मचारी गयल, ३० जनाले कर्मचारीले पोशाक नलगाएको, नागरिक वडा पत्र नराख्ने कार्यालय ११, सूचना अधिकारी नतोक्ने कार्यालय ५, सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर टाँस नगर्ने कार्यालय ९ र धुम्रपान/मद्यपान एवं सूर्तिजन्य पदार्थ निषेध सूचना/संकेत टाँस नगरेका कार्यालय १० रहेको प्रजिअ बस्नेतले बताउनुभयो ।

भत्ता बुझ्ने तर पोशाक नलगाउने र परिचय पत्र साथमा नराख्ने कर्मचारी संख्या धेरै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमन टोलीले स्थलगत रुपमै सम्बन्धित कार्यालय प्रमुखलाई सुधार गर्नुपर्ने सूचकहरु तत्काल सुधार गर्न सुझाव समेत दिएको छ, ‘यसरी कार्यालयमा नबस्ने, मनोमानी ढंगले कार्यालय छाड्ने, जनताको सेवामा वेवास्ताता गर्ने र श्रोत साधनको दुरुपयोग गर्ने कर्मचारीलाई कानून बमोजिम कारबाहीको दायारामा ल्याउछौं ।’ 


प्रतिक्रिया