त्रिशूली नदीमा बेपत्ता यात्रु खोज्न ५ जिल्लाका प्रहरी परिचालन 

श्रावण २७, २०७६ | धादिङ

हरिहरसिंह राठौर त्रिशूली नदीमा खसेर बेपत्ता भएकाको खोजीका लागि ५ जिल्लाका प्रहरी परिचालन गरिने भएको छ । पृथ्वी राजमार्गको बेनिघाट रोराङ ३ स्थित मालिङ्गामा गत शुक्रबार दुर्घटना पछि बेपत्ता यात्रुहरुको खोजी गर्न जिल्ला प्रशासन कार्यालय धादिङले ५ जिल्लाका प्रहरीसँग समन्वय गरेको हो ।

त्रिशूली नदी बग्ने चार वटै जिल्ला धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसँगको छलफल पछि यस्तो आग्रह गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।

नदी खसेर बेपत्ता भएकाको खोजी कार्य थप प्रभावकारी बनाउन सम्बन्धित जिल्लाका प्रमुख र सुरक्षा प्रमुखसँग समन्वय गरिएको उहाँले बताउनुभयो । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाइमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँगको भएको छलफलमा बेपत्ता यात्रुका आफन्तले राजमार्गमा बारम्बार सवारी दुर्घटना हुने गरेपनि सम्बन्धित निकायले सुरक्षाका कुनै पनि उपाय नअपनाएको गुनासो गरेका थिए ।

नदीले बगाएका सामान र शवहरु नवलपरासीको त्रिवेणी बाँध नजिक फेला परेकाले त्यहा कुनै शव फेला परेमा जानकारी गराउन आग्रह समेत गरिएको एसपी राजकुमार बैदवारले जानकारी दिनुभयो । नदीले बगाएका सामानहरु तैरिने तथा भूमरी परेका विभिन्न स्थानहरुमा प्रहरीहरुले निगरानी बढाइएको उहाँले बताउनुभयो ।

गत शुक्रबार सर्लाहीको मलङगवाबाट काठमाडौं आउँदै गरेको चालक सहित ४५ जना यात्रु बोकेर आएको ना ६ ख ७४६९ नम्वरको बस धादिङको मालिङ्गा सलाङघाटमा दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ । सो बसका अन्य १९ जना यात्रु र केही नाम खुल्न नसकेका काखे वालकहरु वेपत्ता भएको आशंका गरिएको धादिङका प्रजिअ भगीरथ पाण्डेयले बताउनुभयो ।

त्रिशूली नदीको किनारमा बेपत्ता भएकाको खोजी गर्न कठीन हुने भएकाले त्रिशूली किनारमा जलयात्रा गराउने ६ वटा रिसोर्टहरुलाई पनि सतर्क गराईएको छ । जलयात्रा गराउने क्रममा नदी किनार र भूमरीहरुमा शवहरुको निगरानी गरी तत्काल प्रहरीलाई खबर गर्न निर्देशन समेत दिईएको छ । काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरूमा भारत सीतामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका ४ बस्ने ३२ वर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जीवन विक रहेका छन् ।


प्रतिक्रिया