अनलाइनबाट मालपोत सेवा प्रभावित

श्रावण २९, २०७६ | रोल्पा

इन्टरनेटको असुविधाका कारण रोल्पास्थित मालपोत कार्यालयले सुरु गरेको अनलाइन सेवा प्रभावित भएको छ । दक्ष जनशक्ति अभाव र स्तरीय इन्टरनेट सेवा नभएकाले शुभारम्भ भएदेखिनै सेवा प्रभावित हुँदै आएको हो । 

मालपोत कार्यालयका अधिकृत सुनीता भण्डारीले इन्टरनेटका कारण सेवाग्राही समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेट निकै सुस्त चल्छ । त्यसैले सेवा प्रभावकारी दिन सकिएको छैन ।’ 

जिल्लामा सेवाग्राहीलाई सहज रुपमा सेवा दिने उद्देश्यले नयाँ आर्थिक वर्षदेखि अनलाइन सेवा सुरु गरिएको हो । तर, कार्यालयले एकातिर दक्ष जनशक्ति पाउन सकेको छैन भने,  अर्कातिर इन्टरनेट सेवा स्तरीय छैन । 

लेखापढी व्यवसायीहरुका अनुसार अनलाईन मार्फत सेवा सुरु गर्नुअघि दैनिक २०/२५ जना सेवाग्राहीले सेवा पाउँदै आएका थिए । हाल दिनमा ५/६ जना सेवाग्राहीको काम मुस्किलले हुने गरेको उनीहरुको भनाई छ ।

कार्यालयमा अनलाइन सेवा सञ्चालन गर्न सूचना प्रविधि (आइटी) सँग सम्बन्धित कर्मचारी पठाइएको छैन । सबै काम दरबन्दी भन्दा कम रहेका कम्प्युटर अपरेटरबाट नै हुने गरेको छ । कार्यालयमा एक जना कम्प्युटर अपरेटर छन् । कार्यालय प्रमुख भण्डारीले इन्टरनेट सेवा अवरुद्ध नभए थोरै जनशक्तिले पनि काम गर्न सकिने बताउनुभयो । जिल्ला मालपोतमा माथिल्लो विभागले २ एमबीपीएस क्षमताको वर्ड लिंकको इन्टरनेट जडान गरेको छ । 

मालपोतमा जग्गा नामसारी, नयाँ रजिष्ट्रेसन लगायतका काममा लागि आउने सेवाग्राहीले सेवा नपाउँदा एक सातासम्मै कुर्ने गरेका छन् । उनीहरुले स्थानीय तहको संरचनापछि सबै सुविधा गाउँमै पठाइएको छ भन्दै सरकारले बताएपनि मालपोत कार्यालयबाट सेवा पाउन एक सातासम्म पर्खनु परेको गुनासो गरे ।

पीडितहरुले कार्यालयले अनलाइन मार्फत् सेवा प्रवाह गर्ने नीति अघि सारेपछि कतिपय लेखापढी व्यवसायीले कम्प्युटरबाट काम गर्न ढिलो गरेकाले पनि निकै समय लाग्ने गरेको गुनासो गरेका छन् । अनलाइन सेवा सुरु भएपछि सबै लेखापढी व्यवसायीलाई कम्प्युटरको प्रयोग अनिवार्य गर्न निर्णय जारी गरेको छ । अघिल्लो साता बुधबारदेखि रोकिएको काम आइतबार र सोमबार मात्रै केही मात्रामा गरिएको थियो । 

मालपोतबाट सेवाग्राहीको काम छिटो–छरितो नभएको गुनासोपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले चासो देखाउनु भएको छ । प्रजिअ ढकालले सेवाग्राहीको काम छिटो गरिदिन मालपोत कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘के समस्या हो काम ढिलो हुनुको, माथिल्लो विभागबाट सहयोग लिई चाँडो काम गर्न निर्देशन दिएको छु ।’ 

यसैबीच जिल्लाको पश्चिमी क्षेत्र घर्तीगाउँस्थित क्षेत्रीय सेवा कार्यालयबाट पनि जग्गा रेजिष्ट्रेसन लगायतका काम हुने गरेको छ । अघिल्लो वर्षदेखि घर्तीगाउस्थित मालपोत कार्यालयबाट काम थालिएको हो । तर, त्यहाँ भने अनलाईनबाट नियमित काम हुने गरेको छैन । घर्तीगाउबाट जिल्ला प्रशासन कार्यालयले प्रशासनिक सेवा कार्यालय स्थापना गरी नागरिकता वितरणका सेवा प्रवाह गर्दै आएको छ । तर, शाखा अधिकृत नपठाएकाले नियमित काम नभएको माडी गाउँपालिकाका प्रमुख नन्दबहादुर पुनले बताउनुभयो ।

पश्चिमी रोल्पाका करिब आधा दर्जन गाउँपालिकाबासीलाई सेवा प्रभाव गर्न सक्ने घर्तीगाउस्थित सेवा कार्यालयमा स्थानीय उत्पादनको विद्युत जडान गरिएको छ । मगरहरुको बाक्लो वस्ती रहेको घर्तीगाउ रोल्पा सदरमुकाम लिबाङदेखि करीब २८ किलोमिटर पश्चिममा अवस्थित छ । 


प्रतिक्रिया