विवादित वनमा मन्त्रिपरिषद बैठक

भाद्र ५, २०७६ | जनकपुर

अधिकार क्षेत्रलाई लिएर संघ र प्रदेशबीच विवादित बनेको सागरनाथ वन परियोजनामा शुक्रबार प्रदेश २ सरकारको मन्त्रिपरिषदको बैठक बस्दैछ । मन्त्रिपरिषदका बैठकका लागि वन परियोजनाको क्वाटरलाई सजाइएको छ ।

शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषदको बैठक परियोजनामा गर्ने प्रदेश २ को सरकारले बिहीबार निर्णय गरेको छ । वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रिपरिषदका बैठक सागरनाथ वन परियोजनामा बस्ने र त्यसको तयारी पूरा भएको जनाएको छ ।

मन्त्री रामनरेश रायले बैठकमा सागरनाथ वन परियोजनाको संरक्षण, रेखदेख र वृक्षारोपण सम्बन्धमा पनि छलफल हुने बताउनुभयो । प्रदेश सरकारलाई थाहै नदिई संघीय सरकारले सागरनाथ वन परियोजनालाई दी टिम्बर कोपरेशनमा गाभेर नेपाल वन लिमिटेडमा परिणत गराउने निर्णय गरेको छ । त्यो निर्णयको विरुद्धमा प्रदेश २ को सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाइएको त्यो रिट अहिले विचाराधीन अवस्थामा छ । वन मन्त्रालयको तर्फबाट रिट दायर गरेका कर्मचारी बेचन महतोका अनुसार रिटमाथि संवैधानिक इजलासमा बुधबार बहस हुनेछ । 

प्रदेशका वन मन्त्री रायले संविधानमा सागरनाथ वन परियोजना प्रदेशकै मातहत रहने व्यवस्था भएपनि संघीय सरकारले बलजफ्ती गरेकाले सर्वोच्च अदालतमा कानूनी उपचार खोज्न पुगेको बताए । सागरनाथ वन प्रदेश मातहतको रहेकाले त्यहाँ बैठक राखिएको हो, मन्त्री रायले भन्नुभयो, ‘वनको संरक्षणका लागि प्रदेश सरकारले लगानी गरेको छ । त्यहाँ हाम्रै सरकारले गतिविधि गर्नेछ ।’

सर्लाही, महोत्तरी र रौतहटको १३ हजार १ सय ३२ हेक्टर क्षेत्रफलमा फैलिएको सागरनाथ वन परियोजना फागुन २४ गते मन्त्रिपरिषदबाट निर्णय गरेर प्रदेश २ को सरकारले आफ्नो मातहत ल्याएको थियो । मन्त्रिपरिषदले गरेको निर्णयबारे संघीय सरकारलाई पत्रमार्फत जानकारी गराइएको थियो ।

प्रधानमन्त्री कार्यालयले जेठ २३ गतेको निर्णयअनुसार सागरनाथ वन परियोजनालाई दी टिम्बर कोपरेशनमा मर्ज गरेको थियो । मर्जरपछि सागरनाथ वन परियोजनालाई वन निगम कम्पनी दर्ता गर्ने संघीय सरकारको निर्णय हस्तक्षेप भएको प्रदेश २ का वन मन्त्री रायको भनाइ छ ।

प्रदेश २ मातहत ल्याइएको सागरनाथ वन परियोजनाको व्यवस्थापन र वृक्षारोपनमा आर्थिक वर्ष २०७५/०७६ मा १ करोड रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षमा पनि परियोजनालाई १ करोड रुपैयाँ बजेट दिइएको मन्त्री रायले बताउनुभयो । सागरनाथ वन परियोजनामा शुक्रबार प्रदेश सरकारले बृहत वृक्षारोपणको आयोजना समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा विभिन्न जातका बिरुवा त्यहाँ रोपिंदै छ । सागरनाथ वन परियोजनाको २० हेक्टर क्षेत्रफलमा बिरुवा रोप्नका लागि घेराबेरा लगाइसकिएको छ । 


प्रतिक्रिया