सिफारिस समितिबाटै बाहिरिने आयोगको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनाईएका दुई आयोगमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया निष्पक्ष नबनाए सिफारिस समितिबाटै बाहिरिने चेतावनी दिएको छ । संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न आयोगलाई पूर्णता दिने विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो चेतावनी दिएको हो ।  

सत्य निरुपण तथा मेलमिलाप अयोगको अध्यक्षमा पूर्वमहान्याधिवक्ता रमणकुमार श्रेष्ठलाई पठाउन र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पुरानै पदाधिकारीलाई निरन्तरता दिन हिजो दलहरु सहमत भएका थिए ।

मानव अधिकार अयोगका अध्यक्ष अनुप शर्माले आज विज्ञप्ति जारी गदै सिफारिस समितिमा आयोगको समेत प्रतिनिधित्व रहेको स्मरण गराउँदै दलीय सहमतिप्रति असहमति जनाउनु भएको हो ।

सिफारिस गर्ने अधिकार समितिको मात्र भएको भन्दै आयोगले समितिबाट स्वतन्त्र, निष्पक्ष, पीडितमैत्री तथा पारदर्शी रुपमा मानव अधिकारका मूल्य र मान्यता अनुकूल योग्य व्यक्तिहरु सिफारिश गरिनुपर्ने उल्लेख गरेको छ । ऐन संशोधन प्रक्रियामा राजनीतिक वृत्तको ध्यानाकर्षण भएकोमा भने आयोगले सन्तोष व्यक्त गरेको छ । 


प्रतिक्रिया