त्रिविको कामु उपकुलपतिमा त्रिपाठी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

त्रिभुवन विश्वविद्यालयको कायम मुकायम उपकुलपतिको जिम्मेवारी रेक्टर सुधा त्रिपाठीलाई दिइएको छ । उपकुलपति तीर्थराज खनियाको चार वर्षे कार्यकाल आजबाट पूरा भएपछि वरियताका आधारमा त्रिपाठीलाई कामुको जिम्मेवारी दिइएको जनाइएको छ ।

कुलपति, सहकुलपति सहित आज बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारीलाई उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै, कृषि तथा वनविज्ञान विश्वविद्यालयको कायम मुकायम उपकुलपतिको जिम्मेवार डिन शारदा थपलियालाई दिइएको छ । संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी रेक्टर रमेश ढकाललाई दिइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालको कामु उपकुलपतिको जिम्मेवार डिन विजुकुमार थपलियालाई दिइएको छ । साथै, त्रिवि र सँंस्कृत विश्वविद्यालयको सर्च कमिटीको म्याद २० गतेसम्म थपिएको छ भने कृषि र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग गठनका लागि सर्च कमिटी गठन गर्ने निर्णय गरेको जनाइएको छ । 


प्रतिक्रिया