स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री पुनः सिंगापुरमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जानुभएको छ । नियमित स्वास्थ्य परीक्षण गराएर फर्किएको डेढ साता नबित्दै प्रधानमन्त्री ओली आज अपरान्ह साढे १ बजे पुनः सिंगापुर जानुभएको हो ।

सिंगापुरमा अघिल्लो पटक भएको उपचारका क्रममा परिवर्तन गरिएको औषधीको प्रभावबारे फलोअप जाँच हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको साथमा धर्मपत्नी राधिका शाक्यसहित सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मी छन् । सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे शीर्ष नेताहरुलाई व्रिफिङ गर्नुभएको थियो । 

१२ वर्षअघि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो पटक गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्क्री ओलीको रगतमा त्रिएटिनिन बढ्नुले मृगौलाको कार्यक्षमता कमजोर भएको देखिएको थियो ।

सो अवस्थामा सुधार नआएपछि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जानुभएको हो । नेशनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार हुने डा. सिंहले उल्लेख गर्नुभएको छ । चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय हुने उहाँको नीजि सचिवालयले जनाएको छ ।  


प्रतिक्रिया