‘चक्रवात पीडितको लागि सेनाले बनायो फलामे पुल’

भाद्र ७, २०७६ | सिमरा

हावाहुरी (चक्रवात) पीडितको लागि घर पुर्निर्माणमा खटिएको नेपाली सेनाको जनता आवास पुर्ननिर्माण कार्यदल बारा/पर्साले बाराको फेटा गाउँपालिका १ भुलहीमा फलामे पुल बनाएको छ । मुसलधारे वर्षासँगै बंगरी नदीमा आएको बाढीले सो स्थानमा रहेको अस्थायी पुल बगाएपछि स्थानीय समस्यामा परेका थिए ।

बाँसको पुल बगेपछि सबैभन्दा बढी स्कूले बालबालिका र स्थानीय प्रभावित भएका थिए । लचका पुल बगेपछि अकवनिया, त्रिवेणी, चिलझप्टी, रजवटिया, भरवलियाका बासिन्दालाई भलुही स्थित विद्यालय, वडा कार्यालय, चोकस्थित बजार पुग्न झन्डै ३ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्यता थियो ।

स्थायी फलामे पुल बनेपछि स्थानीयलाई सहज भएको फेटा गाउँपालिका १ का वडाध्यक्ष जयप्रकाश दासले बताउनुभयो । ‘भलुही विद्यालयमा पढन आउने पारीका विद्यार्थीलाई सबभन्दा बढी फाईदा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘सेनाले हामी गाउलेको लागि फलामे सेतु जोडेर सराहनिय काम गरेको छ ।’ स्थानीय सरकरले कहिले पुल बनाउथ्यो कहिले ? सेनाले २ महिनामै पुल बनाएर संचालनमा ल्याईदिएको उहाँले बताउनुभयो । 

स्थानीयको सहजताको लागि सेनाले भलुही स्थित बंगरी नदीमा निर्माण गरेको फलामे पुलको शुक्रबार रिबन काटेर नेपाली सेनाको जितपुर स्थित २८ नं. वाहिनी अडाका प्रमुख सहायक रथी विनय विक्रम राणा र फेटा गाउँपालिकाका प्रमुख अमिरीलाल प्रसादले संयुक्त रुपमा उदघाटन गरी पुल सञ्चालनमा ल्याइएको हो ।

सेनाले स्थानीय श्रोत साधन उपयोग गर्दै झन्डै ५ लाखको लागतमा सो पुल निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाको चन्दननाथ गण ब्रम्हपुरीका प्रमुख गणपति कर्णेल पारस विक्रम शाहले जानकारी दिनुभयो । ‘पुल निर्माण गर्न कही कतैबाट बजेट आएको छैन,’ उहाँले भन्नुभयो, ‘घर निर्माणको लागि ल्याएको फलाम, ढुङ्गा र तारजालीको सदुपयोग गर्दै पुल निर्माण गरेका हौं ।’ सो पुलबाट फेटा गाउँपालिकाका ५ वटा गाउँ टोलका मानिस प्रत्यक्ष रुपमा लाभान्वित हुने गाउँपालिकाका प्रमुख अमिरीलाल प्रसादले बताउनुभयो । 

बाढीले लचका पुल बगाईदिए पछि त्यहा अर्को पुल निर्माण गर्न गाउपालिकाबाट २ लाख रुपैयाँको बजेट विनियोजित गरिएको थियो । तर गाउपालिकाको बजेट खर्च गरिनु भन्दा अगाडी नै सेनाले स्थायी फलामे पुल निर्माण गरीदिएको उनले बताए । ‘सेनाले पुल बनाएर विकास बजेट जोगाई दिएको छ,’ उनले भने, ‘यहाको लागी पुल बनाउन छुट्याईएको रकमलाई अर्को काममा रकमान्तर गरेर खर्च गरिन्छ ।’ सेनाले जनताको घर निर्माणसंगै यहाको विकास निर्माणको कार्यमा पनि सघाएको भन्दै उनले सेनालाई धन्यवाद समेत दिए । 

फलामे पुल उदघाटन भए लगतै शुक्रवार देखी नै संचालनमा आएको छ । उक्त पुलबाट पैदल यात्री, साईकल यात्री, मोटरसाईल यात्री लगायत गरी दिनहु एक हजार भन्दा बढी सर्वसाधारण ओहोरदोहोर गर्ने स्थानीयले जानकारी दिए । 


प्रतिक्रिया