पहिरो ग्रस्त क्षेत्रको वस्ती सार्न सुझाव

भाद्र २४, २०७६ |  दोलखा

दुई जनाको ज्यान लिनेगरी गएको जुँगूको पहिरोग्रस्त क्षेत्रको वस्तीबाट मानिसहरुलाई तत्काल सार्नुपर्ने अध्ययनले देखाएको छ । गौरीशंकर गाउँपालिका -  १ जुँगूको झगरे वस्तीलाई तत्कालै सार्नुपर्ने नत्र थप जोखिमको सामना गर्नुपर्ने अध्ययन प्रतिवेदनमा भनिएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सहयोगमा गरिएको भू–गर्भविद समूहको अध्ययनले वस्ती नै सार्नुपर्ने निष्कर्ष निकालेका हुन् । झगरे वस्तीमा १५ परिवारका करीब ६० जना छन् । हरेकदिन राति भारी वर्षा भैरहेको सो वस्तीमा पुन: पहिरो जान सक्ने खतरा भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको परामर्शदाता कम्पनी नरकन्सल्ट–ल्यामियरका कार्यरत भू–गर्भविद ज्योती केसी सहितको समूहले चार दिनसम्म सो क्षेत्रको अध्ययन गरेका थिए । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले गौरीशंकर गाउँपालिकालाई प्रतिवेदन बुझाएका थिए । गाउँपालिकाले वस्ती सार्नुपर्ने प्रतिवेदन सहित प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको जनाएको छ ।

भू–गर्भ अध्ययनपछि झगरे वस्तीका बासिन्दा झन त्रसित बनेका छन् । स्थानीय पत्रकार दिलबहादुर केसीका अनुसार खतरा छ, भनिएपछि उक्त क्षेत्र छाडेर मानिसहरु अन्यत्र गै वसेका छन् । गाउँमा वस्न नसकिने भएपछि कोही काठमाडौ र सिकिमतिर पनि लागेका छन् ।

साउन पहिलो साता गएको पहिरोमा १८ वर्षीय निसान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका थिए । बेपत्ता उनीहरुलाई मृत ठानेर परिवारका सदस्यले कुश बनाएर सदगत गरिसकेका छन् ।  

पहिरोका कारण जुँगूको झगरेको बस्ती तत्काल सार्न भू–गर्भविद्ले सुझाव दिएको पाईएको छ । करीब २ हप्ताअघि स्थलगत अध्ययनपछिको विस्तृत प्रतिवेदनमा जुँगूका अन्य पहिरो पछिका बस्ती सर्नु नपर्ने भएपनि झगरेको बस्ती तत्काल सार्नुपर्ने निष्कर्ष निकालिएको पत्रकार एंवम स्थानीयबासी दिल बहादुर केसीले जानकारी दिनुभयो ।

गौरीशंकर गाउँपालिका वडा नंम्वर १ का विभिन्न ठाउँमा पहिरोपछि स्थानीय त्रसित बनेपछि गाउँपालिकाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा रहेका भू–गर्भविद्हरुलाई पहिरोको अध्ययन गर्न आग्रह गरेको थियो । पहिरोका कारण २ दर्जन परिवारले घर छाडेका छन् । जुँगूमा दैनिक भारी वर्षा भइरहेको छ ।

वर्षापछि ठाडो खोला बढेर आउँदा स्थानीयहरु त्रसित स्थानीयको भनाई रहेको छ । जुँगूको झगरेधारा, अफ्लेपू काफ्ले, यार्सा, राजपूमा ठाउँठाउँमा आएको पहिरोका कारण धेरै परिवार घर भएर पनि फर्कन सकेका छैनन् । पहिरोका कारण धेरै ठाउा क्षति भएको र जमिन फाटेपछि गौरीशंकर गाउँपालिकाले भू–गर्भविध मार्फत उक्त स्थानको अध्ययन गराएको हो । 


प्रतिक्रिया